एमाले महाधिवेशन : सुदूरपश्चिमबाट अध्यक्ष, उपाध्यक्ष र सचिवका यी हुन् दाबेदार – Nepal Press

एमाले महाधिवेशन : सुदूरपश्चिमबाट अध्यक्ष, उपाध्यक्ष र सचिवका यी हुन् दाबेदार

कैलाली । नेकपा एमालेको चितवनमा हुने मंसिर १०-१२ हुने १० औँ महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशमा पनि सरगर्मी बढेको छ । नेतृत्वका लागि नेताहरूको दौडधुप सुरू भइसकेको छ ।

यस प्रदेशबाट अहिले अध्यक्ष, उपाध्यक्ष र सचिवमा लबिङ सुरू भएको छ । उपाध्यक्ष भीम रावलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

पार्टी नेतृत्व १० बुँदे सहमति कार्यान्वयनमा इमानदार नभएको र नेकपा एकता जोगाउन असफल भएको भन्दै रावलले आगामी महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेका हुन् ।

उपाध्यक्षमा प्रदेश इन्चार्ज लेखराज भट्ट र सचिवमा प्रदेश अध्यक्ष कर्ण थापाको चर्चासँगै कार्यकर्ता माहोल बनाउँदै छन् । सुदूरपश्चिम प्रदेशले दुई पदाधिकारी पाउने सम्भावना रहेको एक नेता बताउँछन् । ‘सुदूरपश्चिम प्रदेशले सहमतिको आधारमा दुई पदाधिकारी पाउने अवस्थामा उपाध्यक्ष र सचिव प्रदेशले पाउने अवस्था छ’उनले भने ।

आकांक्षी धेरै भएको हुँदा पदाधिकारीका केही पदमा पनि निर्वाचनको सम्भावना छ । एमालेमा विधानत: वरिष्ठसहित पाँच उपाध्यक्ष रहने व्यवस्था छ । अध्यक्ष केपी शर्मा ओली निर्विकल्प नेताका रूपमा सर्वस्वीकार्य भइसकेको अवस्थामा पूर्वमाओवादी, १० बुँदे पक्षधर र संकटमा पार्टी र नेतृत्व जोगाउन खडा भएका नेताहरुलाई समेटेर पदाधिकारीमा सर्वसम्मत गर्ने प्रयास भइरहेको एमाले स्रोतले बतायो ।

यता केन्द्रीय सदस्य पदमा भने निर्वाचन हुन निश्चितजस्तै छ ।

पार्टीको २६१ सदस्य केन्द्रीय कमिटीमा सुदूरपश्चिम प्रदेशका २५ जना छन् । तीमध्ये एमालेबाट विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपामा गरिमा शाह, विक्रम शाही, रामकुमार ज्ञवाली, भानुभक्त जैसी, निरा जैरु र प्रेम आले गएका छन् ।

ती बाहेकका लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, गौरीशंकर चौधरी, झपट बोहरा, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह छन् । पाठक भने केन्द्रीय सदस्य नहुने योजनामा छन् ।

झपट रावल र प्रकाश शाह पनि खुल्लामा लड्ने चर्चा छ । नवौँ महाधिवेशन केन्द्रीय सदस्य नरहेका अभिलाल ओखेडा पनि यसपटक केन्द्रीय सदस्यका आकांक्षी छन् । कृष्ण जैसी, दामोदर भण्डारी, धर्मराज पाठक, दामोदर भण्डारी र लीलाधर भट्ट र प्रकाश भट्ट पनि दाबेदार हुन् । महिलामा बसुन्धरा रोकाया, कमला ओली र कमला बोहराको पनि उम्मेदवारीबारे चर्चा छ ।

पूर्वमाओवादीका २५ जना हाल एमाले केन्द्रीय सदस्य छन् । उनीहरूमध्ये सुदूरपश्चिममा लेखराज भट्ट, झपट बोहरा र गौरीशङ्कर चौधरी हुन् । भट्ट पदाधिकारी हुने चर्चामा छन् । बोहरा र चौधरीको केन्द्रीय सदस्यकै आकांक्षी छन् ।

‘यो नेकपाको निरन्तरता हो । नेकपामा रहेर एमाले भएका सबैको सम्मानजनक भूमिका हुनुपर्छ’, केन्द्रीय सदस्य बोहराले भने, ‘यो एकता महाधिवेशन पनि भएको हुँदा निर्वाचनभन्दा पनि सम्मानजनक रूपमा भूमिका दिनु उपयुक्त हुन्छ । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर