भैरहवाको गौतम बुद्ध विमानस्थललाई अप्ठेरोमा पार्ने गरी भारतले उभ्याएको प्रतिस्पर्धी – Nepal Press

भैरहवाको गौतम बुद्ध विमानस्थललाई अप्ठेरोमा पार्ने गरी भारतले उभ्याएको प्रतिस्पर्धी

आजका दिनसम्म नेपालबाट अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै हो । यसको विकल्पका रुपमा निर्माण सुरु गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्नताको अन्तिम चरणमा छ ।

सन् २०१५, जनवरी १५ (२०७१ माघ १) मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए । ३५ महिनाभित्र विमानस्थल निर्माण सकिएर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । बुद्धको जन्मभूमि क्षेत्रमा बनाइएको विमानस्थल भएकोले बौद्धमार्गी देशका धार्मिक पर्यटकदेखि छिमेकी भारतका यात्रुले समेत यो विमानस्थलमार्फत आउजाउ गर्ने अपेक्षा राखिएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सीमापारी भारतमा समेत अन्तर्राष्ट्रिय विमानस्थलहरु नभएकाले भारतीयहरुलाई समेत तेश्रो देश आउजाउ गर्न यसको प्रयोग हुने चर्चा मिडियामा भए । तर, शिलान्यासको सन् २०१७ डिसेम्बर ३१ सम्ममा सकिनुपर्ने विमानस्थल अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । निर्माणमा ढिलाइ तथा भारतसँगका हवाई रुटलगायतका प्राविधिक कारणले विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

यहीबीचमा भारतले गौतमबुद्ध विमानस्थलकै नजिक पर्ने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी सञ्चालनमा समेत ल्याइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१८ मा भारतीय राज्य उत्तर प्रदेशमा कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सार्वजनिक घोषणा गरेका थिए । घोषणा गरेको दुई वर्षपछि सन् २०२० को जून २४ (२०७७ असार १०) मा संघीय मन्त्रिपरिषदबाट निर्णय गर्दै कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालियो । उक्त विमानस्थल एक महिना अगाडि मात्रै औपचारिकरुपमा उद्घाटन भएको छ । उद्घाटन गर्न मोदी स्वयम् २०२१ अक्टोबर २० (२०७८ कात्र्तिक ३) मा कुशीनगर पुगेका थिए ।

उद्घाटनको दिन दक्षिण एसियाको सबैभन्दा ठूलो बुद्धिष्ट देश श्रीलंकाको वायुसेवा श्रीलंकन एयरलाइन्सले पहिलो उडान भरेको थियो । श्रीलंकाका पूर्वराष्ट्रपति तथा हालका प्रधानमन्त्री महेन्दा राजापाक्षेका छोरासमेत रहेका शक्तिशाली मन्त्री नमल राजापाक्षेको नेतृत्वमा आएको उडानमा सयभन्दा बढी भिक्षुसहित विभिन्न १२ देशका कूटनीतिज्ञहरु सवार रहेको भारतीय अखबार फाइनान्सियल एक्सप्रेसले उल्लेख गरेको छ । १२ देशका कूटनीतिज्ञहरुमा नेपालसहित मंगोलिया, थाइल्यान्ड, लाओस, दक्षिण कोरिया, श्रीलंका, भुटान, जापान, सिंगापुर, भियतनाम, कम्बोडियाका लागायतका थिए ।

श्रीलंकन एयरलाइन्सले श्रीलंकाको काटुनायाके शहरमा रहेको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलबाट कुशिनगरसम्म उडान गरेको थियो । पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाबाट गर्न मोदी आफैंले पहल गरेका थिए । उनले आफ्ना श्रीलंकाली समकक्षी महेन्दा राजापाक्षेसँग सन् २०२० सेप्टेम्बर २६ (२०७७ असोज १०) मा भर्चुअल भेला गरेर प्रस्ताव राखेको श्रीलंकाको मुलधारको समाचार पोर्टल आदादेराना डटएलकेले उल्लेख गरेको छ ।

यस्तै, पहिलो आन्तरिक उडान भने भारतको स्पाइ जेटले गर्ने भएको छ । भारतीय अखबार बिजनेस स्ट्यान्डर्डले उल्लेख गरे अनुसार यही नोभेम्बर २६ (मंसिर १०) देखि स्पाइज जेटले हप्ताको चार उडान भर्नेछ । हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार स्पाइस जेटबाट दिल्ली–कुशीनगर नियमित उडान हुनेछन् ।

कुशीनगर भारतको २९औं अन्तर्राष्ट्रिय विमानस्थल तथा उत्तर प्रदेशकै तेश्रो अन्तर्राष्ट्रिय विमानस्थल भएको भारतीय मिडियाहरुले लेखेका छन् । उत्तर प्रदेशमा सञ्चालनमा रहेका अरु दुई अन्तर्राष्ट्रिय विमानस्थलहरुमा राजधानी लखनउको चौधरी चरन सिंह विमानस्थल र वाराणशीको लालबहादुर शास्त्री विमानस्थल हुन् ।

कुशीनगर गौतम बुद्धले महापरिनिर्माण अर्थात मृत्युवरण गरेको क्षेत्र हो । नेपालमा गौतम बुद्ध विमानस्थलको काम अघि बढेसँगै कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल भारतले हतार-हतार बनाएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट उक्त विमानस्थलको सडक दुरी केवल १३३ किलोमिटर हाराहारी छ, जुन औसत साढे तीन घन्टामा पुग्न सकिन्छ ।

अझ रोचक कुरा त कुशीनगर विमानस्थल नेपालतर्फको जस्तो व्यवसायीक सञ्चालन भएको विमानस्थल पनि थिएन । बेलायती शासन भएको समयमा सबैभन्दा पहिले सन् १९४६ मा हवाई मैदान बनाइएको क्षेत्रमा पहिलो र अन्तिम जहाज अवतरण ६७ वर्ष अगाडि सन् १९५४ को बुद्ध पूर्णिमामा भएको थियो । त्यसबेला विभिन्न देशका बुद्धधर्मावलम्बीहरु ओर्लेको भारतीय च्यानल एबिपी न्यूजको अनलाइन पोर्टलले उल्लेख गरेको छ ।

सन् २०१२ सम्म कुशीनगर हवाईमैदानकै रुपमा मात्रै थियो । कुशीनगर नजिकै नेपालको बुद्धधाम लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएको तीन वर्षपछि भारतले घोषणा गरेको हो । नेपाललाई उछिन्दै घोषणाको तीन वर्षमै भारतले बिमानस्थल तयार गरेर सञ्चालनमा समेत ल्याएको छ । नेपालको विमानस्थल भने अझै निर्माण पूरा हुन सकेको छैन ।

५८९ एकर क्षेत्रफल भएको विमानस्थलको टर्मिनल भवनको क्षेत्रफल ३६ सय वर्गमिटर छ भने धावनमार्ग ३२ सय मिटर लामो छ । विमानस्थलको लागत २ सय ६० करोड भारतीय रुपैयाँ भएको भारतीय मिडियाहरुले लेखेका छन् । यो विमानस्थल बनेसँगै बौद्धमार्गी पर्यटक २० प्रतिशतले बढ्ने भारतको आँकलन छ ।

भारतले बनाएको कुशीनगर विमानस्थल पनि नेपालको जस्तै बौद्धिक पर्यटक लक्षित हो । नेपालले योजना र शिलान्यास अगाडि गरे पनि भारतले छिटो निर्माण गरेर सञ्चालनमा ल्याउन सफल भयो । यसले गौतम बुद्ध विमानस्थललाई ठूलो धक्का पुग्ने निश्चित छ । यसले भारतीय यात्रुदेखि विश्वभरका बौद्धमार्गी पर्यटक ओसार्ने नेपालको लक्ष्यमा दीर्घकालीन असर पुग्नेछ ।

समस्या यो मात्र होइन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि भारतको हवाइ रुट प्रयोग गर्नुपर्छ । भारतले आफ्नो विमानस्थललाई असर गर्ने भनेर नेपाललाई पर्याप्त हवाइ रुट दिन आनाकानी गर्‍यो भने अर्को तनाव थपिन सक्छ ।

कुशीनगर विमानस्थलमा अघिल्लाे महिना भएकाे पहिलाे अन्तर्राष्ट्रिय उडानका क्रममा श्रीलंकन एयरलाइन्सकाे विमान अवतरणकाे भिडियाे हेर्नुस्-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर