खोटाङ कांग्रेस सभापतिमा पूर्वराज्यमन्त्री र पूर्वजिल्ला सभापतिको भिडन्त – Nepal Press

खोटाङ कांग्रेस सभापतिमा पूर्वराज्यमन्त्री र पूर्वजिल्ला सभापतिको भिडन्त

खोटाङ । खोटाङमा नेपाली कांग्रेसको सभापतिका लागि पूर्वराज्यमन्त्री सर्वधन राई र पूर्वजिल्ला सभापति विष्णुकुमार राईले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताका लागि समय सोमबार साँझ ६ : ३० बजेसम्म बढाइएकोमा हालसम्म देउवा निकट पूर्वराज्यमन्त्री राई र पौडेल निकट पूर्वसभापति राईले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पूर्वराज्यमन्त्री राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन शैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सहसचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन् ।

यस्तै, पूर्वसभापति राईको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई, सहसचिवमा सार्जन राई र सालिकराम बञ्जराले मनोनयन दर्ता गराएका छन् ।

पूर्वराज्यमन्त्री राईलाई कृष्ण सिटौला समूहको समर्थन छ भने पूर्व सभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको साथ छ ।

कांग्रेस जिल्ला सभापतिका चार आकांक्षीमध्ये सिटौला निकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईले पूर्वराज्यमन्त्री राईलाई सहयोग गर्ने सहमति भएको छ । जिल्ला सभापतिको दौडबाट ‘ब्याक’ भएका महाधिवेशन प्रतिनिधि राई संघीय महाधिवेशन प्रतिनिधिमा उठेका छन् ।

सभापतिको दौडमा देउवा निकट महासमिति सदस्य रबीप्रकाश राई पनि छन् । मनोनयन दर्ता गर्ने समयभित्र उम्मेदवारी नदिए उनले अन्तमा पूर्वराज्यमन्त्री राईलाई सहयोग गर्ने श्रोतले जनाएको छ ।

जिल्ला सभापतिको मतदान भने मंगलबार बिहान ७ बजेदेखि सुरु हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानमा जिल्लाको प्रदेश (क) र (ख)का कम्तीमा १ हजार ४०० प्रतिनिधिले भोट हाल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर