पोल विवादबारे समिति र व्यवसायीबीच छलफल, पुरानै भाडादर कायम गर्नुपर्ने सुझाव – Nepal Press

पोल विवादबारे समिति र व्यवसायीबीच छलफल, पुरानै भाडादर कायम गर्नुपर्ने सुझाव

काठमाडौं । विद्युतिय पोलहरुको भाडा विवाद समाधानका गठित समितिले आज इन्टरनेट सेवा प्रदायक तथा केबल टेलिभिजन सेवा प्रदायकहरुसँग छलफल गरेको छ ।

छलफलका क्रममा पुरानै भाडा दर कायम राख्नेमा सरोकारवालाहरुले जोड दिएका थिए भने उर्जा मन्त्रालयसमेत यसमा सकारात्मक देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले केही समयअघि अचानक पोलभाडामा उच्च वृद्धि गरेपछि इन्टरनेट र केबल व्यवसायी आन्दोलित बनेका थिए ।

विवाद समाधानका लागि उर्जामन्त्री पम्फा भुषालको अध्यक्षतामा बसेको बैठकले गत असोज १७ गते सर्वपक्षिय समिति बनाएको थियो । सो समितिले आगामी १५ गते आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।

आजको छलफलमा समितिका संयोजक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनाद प्रकाश सिंह तथा उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल सहभागी थिए ।

यस्तै, विद्युत प्राधिकरणका निर्देशक श्रीराम राज पाण्डे, दुरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा लगायतको उपस्थिति थियो । व्यवसायीका तर्फबाट नेपाल केबुल व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा, इस्पानका सीइओ सुभाष खड्का लगायतको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *