‘ढुङ्गाको प्रेम’ले बढाएको ऊर्जा
यो समीक्षा होइन । समालोचना पनि होइन । साथीले लेखेको पुस्तक पढेपछिको प्रतिक्रियात्मक अभिव्यक्ति मात्रै हो ।
पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बास्कोटालाई सुन्दर रचना सर्जक हुन् । पाँचथरका कुना कन्दरताका समाचार राष्ट्रिय मिडियामा ल्याउने बास्कोटा पाँचथरको साधुटारदेखि चिवाभन्ज्याङहुँदै तिम्बुङ पोखरीका पर्यटन खुराकलाई व्यापक बनाउने पत्रकार हुन् । नागरिक दैनिकमा उनका प्रायः सामग्री पढ्दै आएको छु ।
झण्डै दुई वर्षअगाडि धरानबाट प्रदान गरिने ‘सेछ पर्यटन पत्रकारिता पुरास्कार’ प्रदान कार्यक्रममा एकै स्टेज सेयर गरेको मलाई उनका लेखनका धेरै पक्षबारे जानकारी भएको भ्रम थियो । उनी त कविता पनि लेख्दा रहेछन् ।
उनका फिचरदेखि सामाजिक संजालको पोस्टमा काव्य चेत वा भनौं कवितापन बेलाबेला आएकै हो । त्यत्तिमात्रैले उनी कवितै लेख्छन् भन्ने चाहिँ थाहा थिएन । न त उनले सामाजिक सञ्जालमा धेरै कविता नै पोस्ट गर्थे ।
पछिल्ला केही महिनामा भने उनले सरप्राइज दिए । काठमाडौंको शिखा बुक्स्ले आफ्नो कविता संग्रह प्रकाशन गर्न लागेको सूचना सामाजिक संजालबाट थाहा पाउँदा अचम्म लाग्यो । कविता लेख्छु भनेर हल्लै नगरी एकैचोटि कविता संग्रहको कभर सार्वजनिक गर्ने उनको कला यूनिक लाग्यो ।
काठमाडौंमा प्रकाशन गरेको कृति आफ्नो गृहनगरमै विमोचन गर्ने उनको अर्को स्टाइल तारिफ पनि तारिफयोग्य लाग्यो ।
केही दिनअगाडि केन्जोखबर डटकमकी सम्पादक तथा कुनै बेला धरानको स्टार एफएमकी स्टार आरजे सरला रेग्मीले इटहरी–४ बाघमारे घरमै कविता संग्रह ल्याइदिएर पढ्ने वातावरण बन्यो । संग्रह पाउनेबित्तिकै मेरो पहिलो प्रतिक्रिया थियो– आमामा कत्ति सानो !
७२ पृष्ठको संग्रहमा २७ कविता रहेछन् । अझ उनले कुनै चिनिएका कवि, लेखक, साहित्यकारहरुको भनाइ नराखी कवितामात्रैको संग्रह बनाएका छन् । यो स्टाइल पनि दामी लाग्यो ।
कवितामा आँखा डुलाएपछि कविताले तान्यो । पाँचथरका कवि भएको छनक उनले आफ्नो ठेगाना र विमोचन भेन्यूबाट मात्रै होइन, कविताबाट पनि दिएका छन् । उनले पाँचथरको भूगोल तमोर नदी, सुम्हालुङ सम्झिएका छन् । लिम्बुवान क्षेत्रमा लोकप्रिय तोङ्वाको चाँदीवाला पिपालाई कवितामा जोडेका छन् ।
उनका कवितामा शक्तिशाली रहेछन् । ‘समाजवादको यो यात्रा’ शीर्षक कवितामा उनी लेख्छन्ः
‘भोका, नांगा र रित्ता छौँ
त्यहीं भएर त हामी जनता हौँ ।’
सत्ता, शक्तिभन्दा पर परेका वा पारिएका जनतालाई जनाउन योभन्दा राम्रो अभिव्यक्ति के होला ?
यस्तै ‘कथाहरुको संवाद’ शीर्षक कवितामा एकलाइन छः
‘महानायक हुने सपना देखिएन क्यारे
भाग्यरेखासँगै सीमारेखा उभिएका छन् ।’
नायक हुने दक्षता भएर पनि सामाजिक राजनीतिक र आर्थिक सिमानाले जकडेर मान्छेलाई नायक बन्न कसरी रोक्छ ? भन्ने संकेतको एक सुन्दर अभिव्यक्ति हो यो ।
अन्य केही कवितांश हेरौँ
‘स्टेजबाट हराएको संगीत
कविताबाट हराएको बान्की
आगोबाट हराएको ताप
के फरक भयो सपनाहरु भन्दा’ (सपनाहरु हो, हार्दिक श्रद्धान्जली)
‘चम्किँदै लुक्दै, लुक्दै चम्किँदै
भुँइकुहिरो त कहिले हुस्सु बनेर बहन्छ याद
चिमोटिन्छ मुटुको दिलद्वार
ओ क्षितिजपारिको मान्छे
भुलिसक्यौँ या सम्झिरहन्छौँ?’ (क्षितिजपारिको मान्छे)
सबैभन्दा रोचक लागेको कविता हो, ‘तिम्रो जन्मदिनमा’ यो कवितामा उनले भ्यालेन्टाइन डेलाई आफ्नो प्रेमिकाको जन्मदिन मानेर कविता कोरेका छन्
‘नयनहरु कोमल हुन्छन्
भोगाइहरु तृत्व हुन्छन्
सम्झनाको फराकिलो चित्रभित्र यो दिल मगमगाएर हाँस्छ
यो दिन मगमगाएर बाँच्छ
फेब्रअरी १४ अर्थात् तिम्रो जन्मदिन ।’
नेपाली कविता क्षेत्रमा यो संग्रहको उपस्थिति कस्तो हुन्छ ? समालोचकीय आँखामा के हुन्छ ? थाहा छैन । तर मलाई मन छोएको सिर्जना संग्रह हो, यो ।
अब मलाई डुङ्गाकाे प्रेम कविता सङ्ग्रह मुल पुस्तक नपढ्दा पनि हुने भान भाे,यस्तो अब्बल सृजना गर्ने सर्जक कवि र समीक्षा लेखेर पनि समीक्षा भन्न नमान्ने लेखक,कवि भाइ Birat Anupam प्रति कृतज्ञ छु।