रेल संचालनसम्बन्धी अध्यादेश अघि बढाउँछु, कागजपत्रमा आजै हस्ताक्षर गर्छुः मन्त्री यादव – Nepal Press

रेल संचालनसम्बन्धी अध्यादेश अघि बढाउँछु, कागजपत्रमा आजै हस्ताक्षर गर्छुः मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनु यादवले रेल संचालनका लागि अध्यादेश ल्याउने र सोसम्बन्धी कागजातमा आजै हस्ताक्षर गर्ने बताएकी छन् ।

रेल संचालनमा चासो नदेखाएको भन्दै लोसपा धनुषाले आन्दोलन गरिरहेका बेला मन्त्री यादव आज जनकपुरस्थित रेल्वे स्टेशनको अनुगमन गरिन् । सो क्रममा उनले भनिन्, ‘अध्यादेशमार्फत रेल्वे कानून ल्याउने तयारीमा सरकार लागेको छ । आजै काठमाडौं पुगेर सम्पूर्ण कागजातमा हस्ताक्षर गर्छु ।’

मन्त्री यादवले एक हप्ताभित्र कानूनी प्रकृया पूरा हुने पनि बताइन् । उनले कर्मचारी भर्ना प्रकृया पनि छिट्टै थाल्ने र यो आर्थिक वर्षभित्रै जनकपुर–जयनगर रेल संचालन आउने दावी गरिन् । उनले अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको र अब बजेट पनि अभाव नहुने बताइन् ।

चार लाख ५० हजार टिकट पनि छापेर जनकपुरधाम रेल्वे स्टेशनमा राखिएको छ । टिकट अनलाइन प्रविधिबाट काटिने बताइएको छ । रेलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने मन्त्री यादवको भनाइ थियो ।

भारतीय सरकारी कम्पनीसंग खरिद गरेर १४ महिनाअगाडि ल्याएको दुई सेट रेल ईनर्वा स्टेशनमा थन्काएर राखिएको छ । तर अहिलेसम्म संचालन नभएपछि आन्दोलन गरिरहेको लोसपाले आज मुख्यमन्त्री लालबाबु राउत र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर