‘अकारण’ किन सारिदैछ कांग्रेस बैठक ? – Nepal Press

‘अकारण’ किन सारिदैछ कांग्रेस बैठक ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको मंगलबार एक महिना पूरा हुँदैछ । प्रतिनिधिसभा विघटनलाई ‘अलोकतान्त्रिक र असंवैधानिक’ ठहर गर्दै दोस्रो चरणको आन्दोलनमा होमिएपनि कांग्रेस केन्द्रीय समितिको समष्टीगत धारणा अझै बनिसकेको छैन ।

केन्द्रीय समितिको बैठक पटक–पटक सरेको छ भने बैठक बसेको दिनमा पनि थोरै नेताहरुले मात्रै धारणा राख्ने गरेका छन् । एक महिनाको अवधीमा कांग्रेसका ४ वटा बैठक बसेका छन् । बैठकमा सभापतिसहित २१ जना नेताहरुले आफ्नो धारणा राखेका छन् ।

आमन्त्रित केन्द्रीय सदस्यहरु २५ जना सहित कांग्रेस केन्द्रीय समिति १ सय २९ सदस्यीय छ । अझै १ सय ८ जनाले बोल्नै बाँकी छ । राष्ट्रिय चासोको विषय भएकाले सबैजसो केन्द्रीय सदस्यहरुले बोल्नका लागि नाम टिपाएका छन् ।

यही गतिमा बैठक सर्दै जाने हो भने कांग्रेसको निर्णय क्षमतामाथि नै प्रश्न उठ्नसक्ने खतरा छ । गत पुस १९ गते बसेपछि कांग्रेस केन्द्रीय समितिको बैठक पुस २७ गतेका लागि सारियो । पुस २७ को बैठक मुख्य सचिव कृष्णप्रसाद पौडेलको विज्ञप्तीपश्चात माघ ६ गतेलाई सर्यो । माघ ६ गतेको बैठकपनि माघ १३ गतेलाई सारिएपछि कांग्रेसमा नेताहरु नै अलमलमा परेका छन् ।

‘केन्द्रीय समितिको बैठक सरेको खबर आयो तर किन सारियो भन्ने थाहा पाएको छैन’, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपाल प्रेससंग भने । राष्ट्रिय राजनीतिका गम्भीर विषय र पार्टीकै महाधिवेशनबारे निर्णय लिनुपर्ने भएकोले केन्द्रीय समितिको बैठक विलम्व गर्न नहुने जोशीको भनाई छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक सार्नुपरेको कारणबारे कांग्रेसले केही बताएको छैन । मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तीमा बैठक सरेको जानकारी मात्रै उल्लेख छ ।

प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक रहेको र आन्दोलनमा उत्रनेसम्मको निर्णय पार्टीले गरिसकेको भएपनि सबैको धारणा सुनेर थप रणनीति बनाउन निरन्तर बैठक बस्न उपयुक्त हुने जोशीको सुझाव छ । ‘निरन्तर बैठक बसेर हाम्रो ठोस धारणा र रणनीति तय गर्नुपर्छ । जे कारणले भएपनि अब बैठक सार्नेभन्दा सक्नेतर्फ लाग्नुपर्छ’, जोशीले भने ।

सभापति शेरबहादुर देउवाले भने पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र साझा धारणा बनाउन बैठक सार्नुपरेको बताएका छन् । आफूनिकट नेताहरुसंग सभापति देउवाले प्रदेशसभामा पेश भएका अविश्वास प्रस्तावबारे पार्टीले के गर्दा उपयुक्त हुन्छ ? भन्नेमा अनौपचारीक रुपमा छलफल टुंग्याएर मात्रै बैठक गर्नुपर्ने जनाएका छन् ।

प्रदेश नम्बर १ र बागमती प्रदेशमा नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ । माघ ७ गतेदेखि प्रदेश १ को सभा बस्दैछ ।

त्यसअगावै कांग्रेसको बैठक बस्न उपयुक्त नहुने भएकाले पछिल्लोपटक एक साताका लागि बैठक सारिएको हो । सभापति देउवा इत्तर पक्षले भने आन्दोलनका पक्षमा देशव्यापी माहोल बनेपनि अदालतको निर्णय पर्खनेगरी बैठक सारिदै आएको आकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर