सिरुबारीलाई केराघारी बनाएका रोहितको चिन्ता– नेपाली उत्पादनले बजार नै पाएन – Nepal Press

सिरुबारीलाई केराघारी बनाएका रोहितको चिन्ता– नेपाली उत्पादनले बजार नै पाएन

रुपन्देही । रूपन्देहीको सियारी गाउँपालिका– ४ ओल्हाहवाका रोहितप्रसाद पासीले २०७५ सालमा साढे एक बिगाह जग्गा भाडामा लिएर केराखेती सुरु गरे । सिरुघारी फाँडेर सुरु गरेको केराखेती अहिले १० बिगाह क्षेत्रमा विस्तारमा भएको छ ।

आफ्नो नाममा एक धुर पनि जग्गा नभएका पासीले स्थानीयको बाँझो जग्गा १० वर्षको लागि भाडामा लिएर केराखेती गरेका हुन् । ‘सबै जग्गा बाँझो थियो, सिरुबारीको जंगल थियो, मैले केराखेती गर्छु भनेपछि उहाँहरुले सहजै दिनुभयो’, पासीले भने, ‘मेरो पुर्खादेखि नै सबैले तरकारीखेती गरेर जीविका चलाउनुभयो, मैले नि जानेको यहीं भयो तर व्यवसायिकरुपमा काम गर्ने सोच भयो, अनि यसरी केराखेती सुरु गरें ।’

व्यवसायिक खेती गर्ने सोच बनाएपछि लुम्बिनी प्रदेश सरकारले ल्याएको ‘करार खेती कार्यक्रम’मार्फत पासवानले एकीकृत कृषि फार्म दर्ता गरे । र अगाडि बढे ।

पहिलो वर्ष कोसा सानो लागे पनि २०७५–७६ मा लुम्बिनी प्रदेश कृषि मन्त्रालयबाट १० लाख रूपैयाँ अनुदान पाएपछि थप १० लाख ऋण खोजेर केराखेती विस्तार गरेको उनले बताए ।

जग्गाको भाडा वार्षिक साढे दुई लाख रूपैयाँ छ । तीन वर्ष पहिलेसम्म सिरूबारी र झाडीले ढाकिएको अर्कैको जग्गालाई रोहितले केराखेती गरेर हराभरा बनाएका छन् ।

उनले १६ हजारभन्दा बढी केराका बोट लगाएका छन् । आधाभन्दा बढी बोटमा एकनासका केराका घरी झुन्डिएका छन् । केही बोटमै पाकिसके भने केही पाक्ने तयारीमा छन् । पाकेर बिक्रीका लागि तयार भएका केरा देखेर उनी खुसी हुनुपर्ने हो तर हुन सकेका छैनन् । चाडपर्व सकिएपछि बजार नभएको भन्दै व्यापारीले केरा नउठाएपछि उनलाई लगानी कहाँबाट उठाउने भन्ने चिन्ता छ ।

सामान्य खेतीभन्दा केरा खेतीमा निकै धेरै आम्दानी हुने भएपनि उत्पादन भएको वस्तुको बजारीकरण नै मुख्य समस्या भएको पासीको गुनासो छ ।

‘अहिले पनि मेरो खेतभरी तयारी केरा छ, यहाँका व्यापारीहरु हाम्रो वस्तु नउठाएर भारतबाट ल्याउन खोज्छन्, अनि हामी कसरी चल्ने ? सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्दछ, तीनै तहका सरकारले किसानको उत्पादनलाई बजारीकरणमा ध्यान दिए कृषि उपजमा छिटै हामी आत्मनिर्भर बन्न सक्छौं तर नेतृत्व र कर्मचारी खाली कमिसनमा रमाउने भयो, विचौलियाले हाम्रो उत्पादनलाई खेतमै सडाउने भए ।’ पासीले गाउँका वास्तविक किसानको पीडा सुनाए ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण केराखेतीबाट साढे दुई लाख रूपैयाँ घाटा पाएका पासीले यसवर्ष क्षतिपूर्ति गर्ने सोचे पनि भदौ–असोजमा परेको अत्यधिक वर्षाले दसैं र तिहारलाई लक्ष्य गरेर लगाइएको केरा समयमा नपाकेर समस्या भएको बताए । अहिले उनको खेतमा बिक्रीका लागि करिब ८ लाख रुपैयाँ बराबरको केरा छ तर व्यापारीले वास्ता गर्दैनन् ।

रोहितले थाहा पाएदेखि नै उनका बुबा र दाजुहरू तरकारी खेती गर्थे । आठ कक्षासम्म पढेका रोहित २०६६ सालमा रोजगारीका लागि मलेसिया गए । तर बिरामी परेर एक वर्षमै घर फर्कन बाध्य भए । र उनले सानैदेखि गर्दै आएको तरकारी खेतीलाई नै निरन्तरता दिन थाले, व्यवसायिक रुपमा ।

उनका अनुसार पहिलो वर्ष कमसल बिरूवाका कारण राम्रो उत्पादन भएन । दोस्रो वर्ष कोरोना महामारी र तेस्रो वर्ष अत्यधिक वर्षाले घाटा लाग्यो । उनले भने, ‘अहिलेको उत्पादन तेस्रोपटकको हो । पहिलो वर्ष राम्रो बिरूवा नपरेपछि केराको कोसा र घरी सानो फल्यो । गतवर्ष कोरोनाका कारण चाडपर्वमा पनि केराले बजार पाएन । यो वर्ष आम्दानी होला भन्ने सोचेको थिएँ, वर्षाले दसैं–तिहारमा बेच्नुपर्ने केरा बल्ल पाक्दैछ ।’

२०७५ सालमा दुई बिघामा ३ हजार ६ सय केराको बोट लगाउँदा रोहितले २ लाख रूपैयाँ लगानी गरेका थिए । सस्तो पर्ने भन्दै किसानको बारीबाटै बिरूवा ल्याउँदा घाटा बेहोरेको उनको भनाइ छ ।

अघिल्लो वर्ष करिब २५ लाख लगानी गरेका उनले २१–२२ लाखको मात्र केरा बिक्री गरेका थिए । यस वर्ष पनि गोडमेल, मलजल र केराको स्याहारसुसारमा १० लाख खर्च भइसकेको छ । उनले अगाडि भने, ‘दसैं बेला ३६ रूपैयाँ दर्जनमा दिँदा पनि व्यापारीहरूले नउठाएपछि अहिलेसम्म बोटमै छन् । यो वर्ष १८–२० लाखको बिक्री होला भन्ने थियो तर लाखौंको केरा बोटमै छन् । आठ हजारभन्दा बढी बोटमा अहिले पनि बजार पठाउन तयार केरा छ । एउटा घरी १ सय ६० रूपैयाँमा दिए पनि १२–१३ लाखको बिक्री हुन्छ तर १ सय २० रूपैयाँ घरीमा पनि व्यापारीले उठाउन मानेका छैनन् ।’

दसैंअघिसम्म ३६ रूपैयाँ दर्जनमा उठाएका व्यापारीले अहिले बजार छैन भन्दै २५ रूपैयाँ दर्जनमा पनि नउठाएको रोहितले बताए । भारतबाट महंगो रकम तिरेर केरा ल्याउने व्यापारीले नेपाली उत्पादन भने नउठाउने गरेको उनको गुनासो छ ।

केरा बिक्री नभए पनि केराघारी सफा गर्ने, पाकेको केरा काटेर बाहिर ल्याउने काममा उनले दैनिक चारजनालाई रोजगारी दिएका छन् । नयाँ बिरूवा लगाउने र गोडमेल गरी मलजल गर्ने बेला ९–१० जना कामदार खटिइरहन्छन् । आफू निरन्तर खेतीकिसानीमा लागे पनि गाउँपालिकाले कुनै सहयोग नगरेको उनले दुःखेसो गरे ।

‘केराको बिरूवा लगाउँदा र पसाउँदा कम्पोष्ट र रासायनिक मल चाहिन्छ, न त समयमा रासायनिक मल पाइन्छ न त उत्पादन भएको केरा बिक्रीको व्यवस्था छ’ उनले भने ।

घारीमै केरा पाकेर पहेँलै भए पनि व्यापारीले नउठाएपछि अब फ्रिजिङ गरेर बिक्री गर्ने उनकाे योजना छ ।

‘अब आफैंले घरको कोठामा एसी लगाएर भए पनि केरा भण्डारण गर्न सकिन्छ कि भन्ने सोचिरहेको छु, त्यसो गर्न सकियो भने यो क्षेत्रका खुद्रा व्यापारीलाई यहीँबाट बिक्री गर्न सकिन्थ्यो’ उनले योजना सुनाए ।

अहिले उनले केरासँगै कागतीखेती र माछापालन पनि शुरु गरेका छन् ।

भारतीय बजारबाट आउने केराको गुणस्तर कम हुने भएपनि नेपाली व्यापारीका कारण उपभोक्ताले सहजै यहाँको उत्पादन लिन नपाएको बताए । ‘भारतमा किसानलाई यहाँभन्दा धेरै सहुलियत छ, बजारको समस्या छैन, मल बेर्ना यहाँभन्दा सस्तोमा पाउँछन्’ उनले भने, ‘तर हामीले यति ठूलो पीडा झेलेर उत्पादन गर्छौं र पनि हामीलाई लागत उठाउनै समस्या छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *