सबैको ध्यान खिच्न सफल कान्छी उम्मेदवार डा. अलबिरा खान – Nepal Press
कांग्रेस अधिवेशन

सबैको ध्यान खिच्न सफल कान्छी उम्मेदवार डा. अलबिरा खान

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा मत मागेका उम्मेदवारमध्ये सबैको ध्यान तान्न सफल छिन्, डाक्टर अलबिरा खान ।

मुस्लिम समुदायका धेरै नारीले बुर्का फाल्न नसकिरहेका बेला डाक्टर खान चुनावी मैदानमा उत्रिएर चर्चामा आएकी छन् ।

२४ वर्षीया डा. अलबिरा एमबीबीएस उत्तीर्ण भएर राजनीतिमा लागेकाले पनि सबैको ध्यान तानिएको हो । अधिवेशन चलिरहेको स्थान वरिपरीका प्रतिनिधिसमक्ष पुगेर उनले भनिरहेकी छन् ‘नमस्कार म अलबिरा खान । मुस्लिम महिलातर्फको उम्मेदवार हुँ, भोट दिनुहोला है ।’

मुस्लिम, मधेसी समुदाय, पिछडिएको समुदायको आवाज बन्दै उनीहरुको जीवनस्तर उकास्न पहल गर्ने अलबिराको लक्ष्य छ । मुस्लिम समुदायमा अहिले पनि धेरै महिलाहरु खुलेर बोल्न र राजनीतिकमा आउन नसकेको समयमा उनले गरेको हिम्मतले नै उनी चर्चामा आएकी हुन् ।

सामाजिक सन्जालमा पनि यसैगरी उनको चर्चा शुरु भएको छ । कपिलवस्तुकी अलिबिराले मुस्लिम महिलातर्फ प्रदेश सदस्यमा मनोनयन दर्ता गरेपछि यसरी चर्चामा आएकी हुन् ।

उम्मदेदार भएका नेताहरुमध्ये उनी सबैभन्दा कम उमेरकी भएकाले पनि सबैको चासो बढेको हो । १३ औं महाअधिवेशनपछि आफू नेपाली कांग्रेसमा क्रियाशील भएको बताउने उनी १८ वर्षदेखि नै राजनीतिमा लागेको बताउँछिन् । आफ्नो बाबा अकित मियाँको प्रेरणाबाट राजनीतिमा लागेको उनको भनाइ छ । उनले भनिन् ‘बाबा ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील हुनुहुन्छ । उहाँले देशमा भएका आन्दोलनमा सहभागिता जनाउनुभएको छ, उहाँको प्रेरणाबाट नै म यता लागेकी हुँ ।’

उनका बुवा कांग्रेसको पूर्व क्षेत्रीय सभापति र अहिले महाधिवेशन प्रतिनिधि हुन् । अलबिरा भन्छिन्– ‘म बिरामीको सेवा गर्नेछु, मेरो पेसा डाक्टर नै रहनेछ, साथमा राजनीति पनि गर्नेछु, मेरो परिवारले राजनीतिमा सर्पोट गर्नुभएको छ । बुबा, भाइ र बहिनी पनि मेरो प्रचारप्रसारमा लागेका छन् ।

समाजमा पहिलेको जस्तो अहिले अवस्था नरहेको र मुस्लिम महिलाहरु खुलेर बोल्न थालेको, राजनीतिमा चासो दिन थालेकाले अवसर पाए राजनीतिमा लाग्न तयार रहेको आफूले पाएको उनको अनुभव छ ।

उनी वरिष्ठ नेता रामचन्द्र पक्षका सभापति पदका उम्मेदवार अमरसिंह पुन मगरको प्यानलबाट तर्फबाट उम्मेदवार बनेकी छन् । कपिलवस्तुको क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएर उनी प्रदेश सदस्यको उम्मेदवार भएकी हुन् ।

बंगालादेशको ढाकाबाट एमबिबिएस गरेकी उनी अहिले एमडी गर्ने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर