वैचारिक कांग्रेस बनाउन उपसभापतिमा उठ्दैछु : नेता आचार्य – Nepal Press

वैचारिक कांग्रेस बनाउन उपसभापतिमा उठ्दैछु : नेता आचार्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले केन्द्रीय उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

गृहजिल्ला मोरङमा पत्रकारहरुसँग कुराकानी गर्दै आचार्यले कांग्रेसलाई विचारशून्य अवस्थाबाट मुक्त गराउन आफू उपसभापति बन्न चाहेको बताए ।

लामो समय कांग्रेस केन्द्रीय समितिमा काम गरेको अनुभवलाई उपसभापतिका रुपमा प्रयोग गर्ने आचार्यको भनाई छ ।

उनले कांग्रेस विधानले उपसभापतिलाई नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी तोकेको भन्दै कांग्रेसलाई वैचारिक रुपमा बलियो बनाउन आफू सक्रिय रहने बताए ।

‘कांग्रेसमा विचार र नीतिका कुरा हुन छाडेका छन् । विचारको जगमा मात्रै कुनै पार्टी बलियो हुन्छ । मेरो उम्मेदवारी कांग्रेलाई सैद्धान्तिक र वैचारिक रुपमा बलियो बनाउनका लागि हो’, आचार्यले भने ।

उनले कांग्रेसमा सभापति जो निर्वाचित भएपनि विचारप्रधान कार्यक्रम अघि सार्नुपर्ने बताए ।

आफूले सबै नेतासँग परामर्श गरिरहेको भन्दै नेता आचार्यले सभापति जो बनेपनि आफूले सहकार्य गरेर काम गर्ने बताए ।

आचार्य २०४८ सालको कांग्रेस सरकारका अर्थ राज्यमन्त्री हुन् । संविधानसभाको दोस्रो निर्वाचनपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारमा आचार्य वनमन्त्री थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर