सुदूरपश्चिम कांग्रेसको सभापतिमा देउवानिकट बलायर निर्वाचित – Nepal Press

सुदूरपश्चिम कांग्रेसको सभापतिमा देउवानिकट बलायर निर्वाचित

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवानिकट नेता बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए ।

पदाधिकारीमा बलायरको प्यानल नै विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।

यस्तो छ मत परिणाम
सभापति
वीरबहादुर बलायर –६८८(विजयी)
नारायणदत्त मिश्र –२८०

उपसभापति
गोपालसिंह गुरुङ –२८१
जनकराज चौधरी –६१०(विजयी)
मनबहादुर रावल –२६३
लोकराज अवस्थी –५२३(विजयी)
हिमबहादुर रावल–१२१

महामन्त्री
नरनारायण शाह मनु –६४८(विजयी)
प्रताप गुर्धामी–१३३
मेघराज खड्का –६३५(विजयी)
रामबहादुर शाही –३०३

सहमहामन्त्री
गोपालदत्त भट्ट–५२९(विजयी)
चिन्तामणि भट्ट –५३३ (विजयी)
नरेन्द्रप्रसाद भट्ट–२१२
पदमराज पन्त –२५४
लक्ष्मणबहादुर शाही – १६४
हर्कबहादुर स्वाँर–६८

महिला सहमहामन्त्री
अम्बिका कुमारी चलाउने–६८६(विजयी)
खिना भण्डारी –२२३

को हुन बलायर ?

प्रदेश अधिवेशन उद्घाटन हुँदासम्म पूर्वभौतिक पूर्वाधारमन्त्री बलायरको कतै नाम सुनिएको थिएन । अधिवेशन उद्घाटनपछि मात्रै उनी सभापतिका लागि चर्चामा आएका थिए । अन्तिममा संस्थापन पक्षले बलायरकै नेतृत्वमा प्रदेश समिति घोषणा गर्‍यो ।

५७ वर्षीय बलायर विद्यार्थीकालमा युवामाझ चर्चित थिए । बीपी कोइरालाबाट प्रभावित उनी २०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर पराजित भए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए ।

बलायर २०४६ सालमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणा हुँदै गर्दा सभाको सुरक्षा संयोजक बनेका थिए ।

बलायरले २०६४ सालमा संविधानसभाको उम्मेदवार बन्ने मौका पाए पनि पराजित भए ।

२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियो । संविधानसभा सदस्यमा विजयी भएका उनी पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । कांग्रेसको १२औं महाधिवेशनमा नेपाली कांग्रेस डोटी सभापति भएका बलायर १३औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए ।

सन्तनेता कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर नेपाली कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिएका थिए । त्यसपछि उनी देउवा प्यानलमै रहेर राजनीति गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर