राप्रपामा सकियो कमल थापा युग, यसरी उदाए लिङ्देन – Nepal Press

राप्रपामा सकियो कमल थापा युग, यसरी उदाए लिङ्देन

यस्तो छ लिङदेनको कठिन राजनीतिक यात्रा

काठमाडौं । राजतन्त्रको वकालत गर्ने देशको प्रमुख शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ अध्यक्ष पाएको छ । लामो समयदेखि पार्टीसत्तामा रहेका कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको कमाण्ड सम्हालेका छन् ।

हाल तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल निर्वाचित अध्यक्षका रुपमा लिङ्देनले हाँक्नेछन् । यसअर्थमा उनको राप्रपामा वास्तविक उदय भएको छ । उनी साविक महामन्त्री थिए ।

राप्रपाका दुई अध्यक्ष पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको दौडमा सामेल भएनन् । उमेरका कारण पनि यी पुराना हस्तिहरु आगामी दिनमा धेरै सक्रिय हुने अवस्था छैन । यसर्थ लिङ्देनको विजयसँगै राप्रपा नयाँ कालखण्डमा प्रवेश गरेको मान्न सकिन्छ । पुरातन पार्टीभित्र ताजा हावा वहेको छ ।

नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चल्न थालेको धेरै भयो । ठूला र प्रजातान्त्रिक भनिएका राजनीतिक दलहरुमा लामो समयदेखि पुरानै अनुहारहरुले रजगज गरिरहेका छन् । तर, पूर्वपञ्चहरुको पार्टी राप्रपामा प्रजातान्त्रिक विधिबाट भएको नेतृत्व हस्तान्तरण/पुस्तान्तरण ती दलहरुका लागि आफैंमा गतिलो सन्देश हो ।

लिङ्देनको जितका अरु पनि आयाम छन् । उनी कमजोर पृष्ठभूमिबाट माथि उठेका नेता हुन् । जनजाति समूदायका प्रतिनिधि हुन् । मुलधारको एउटा पार्टीमा जनजाति नेतृत्व स्थापित हुनु समावेशीताको हिसाबले पनि सकारात्मक हो ।

सामन्तवादीहरुको पार्टी भनेर चिनिने राप्रपाले भूईंबाट उठेका नेतालाई अध्यक्ष निर्वाचित गरेर आलोचकहरुलाई गतिलो जवाफ समेत दिएको छ ।

किन हारे कमल थापा ?

कमल थापाजस्तो शक्तिशाली नेतालाई लिङदेनले कसरी हराए, जो स्वयम् लामो समयदेखि थापाका एक अनन्य सहयोगी थिए ? यसका धेरै कारण छन् ।

सबैभन्दा पहिलो र प्रमुख कारण त पार्टीमा नयाँ अनुहारको खोजी नै हो । २०६३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेयता कमल थापा अविच्छिन्न नेतृत्वमा छन् । यसबीचमा दुईपटक पार्टी विभाजन र एकता हुँदा पनि उनी अध्यक्ष रहिरहे ।

२०६२/६३ को आन्दोलनपछि देश पुरै गणतन्त्रमय भएको समयमा कमल थापाले राजतन्त्रवादी विचारधाराको ढुकढुकी जोगाएका थिए । अन्त्य प्रतिकुल समयमा पनि राजतन्त्रको पक्षमा नारा लगाएकाले उनले राजावादीहरुको मनमा दह्रोसँग जरो गाढेका थिए । २०७० सालको चुनावमा उनको नेतृत्वमा राप्रपा नेपालले उत्साहजनक नतिजा ल्याएको थियो ।

यद्यपि, पछिल्लो समय थापा पार्टीभित्र बढ्दो रुपमा आलोचित भइरहेका थिए । ०७४ सालको संसदीय चुनावमा पार्टीले निराशाजनक परिणाम व्यहोर्यो । देशभरबाट यस पार्टीले एक सीट मात्रै जित्न सक्यो । थ्रेसहोल्ड पुर्याउन नसकेर राप्रपाले राष्ट्रिय दलको हैसियतसमेत गुमायो । यसको मुख्य अपजस थापाको टाउकोमा गयो ।

आफ्नो पार्टीको नीति–सिद्धान्त भुलेर जोसित मिलेर पनि सरकारमा जान तयार भएको भनेर थापा आलोचित बने । गणतन्त्रलाई पार्टीले स्वीकार नगरे पनि उनको पार्टी पटक–पटक गणतान्त्रिक सरकारमा सहभागी भएको छ । योबीचमा थापा स्वयम् दुईपटक उपप्रधानमन्त्री बने । राजतन्त्रको एजेन्डालाई थाँति राखेर गणतान्त्रिक सरकारमा सहभागी हुनु थापाको गल्ति रहेको बुझाइ पार्टीभित्र छ ।

थापाको आलोचनाको विषय भनेको पाटो भनेको राजसंस्थाप्रति उनको कमजोर प्रतिवद्धता पनि हो । केवल भोटका लागि मात्रै राजतन्त्रको एजेन्डा बोकेर हिँडेको आरोप उनीमाथि छ । नेपालमा केही समयअघि राजतन्त्रको पक्षमा देशव्यापी आन्दोलन हुँदा त्यसमा राप्रपाको उपस्थिति देखिएन । थापाले अहिल्यै राजतन्त्र फर्काउन आन्दोलन गर्ने समय नआएको बताउने गरेका छन् ।

राजावादी पार्टी भए पनि थापाले निर्मल निवाससँग सम्वन्ध सुमधुर बनाउन सकेनन् । पूर्वराजाका निकटस्थहरु थापालाई रुचाउँदैनन् । त्यसैले पार्टीको यस महाधिवेशनमा निर्मल निवासको सद्भाव लिङदेनलाई रहेको चर्चा थियो । यद्यपि, निर्मल निवासका स्रोतहरुले भने यसलाई खण्डन गरेका छन् । राजाको चिन्ता सिंगै देश र देशवासीको हुने भन्दै एउटा पार्टीको चुनावमा दरवारले सरोकार नदिएको उनीहरुको भनाइ छ ।

राजसंस्थाको मुद्दालाई थापाले आफ्नो राजनीतिक अभिष्ट पूर्ति गर्नका लागि मात्रै उपयोग गरिरहेको तथ्य आजको उनको स्टाटसले पनि प्रमाणित गर्छ । दुई दिनअघि मात्रै उनले महाधिवेशन उद्घाटनमा पूर्वराजालाई नागार्जुनबाट नारायणहिटीमा बसाल्ने भाषण गरेका थिए । तर, चुनाव हारेलगत्तै उनले निर्मलनिवासलाई सत्तोसराप गरेका छन् । आफ्नो हारको दोष उनले निर्मलनिवासलाई नै दिएका छन् ।

जे होस, राप्रपाबाट कमल थापा युगको अन्त्य भएको छ । उनले महाविधेशन अगाडि चुनाव हारे पनि पार्टी नफुटाउने अठोट व्यक्त गरेका थिए । आफ्नो अठोटमा उनी कति कायम रहन्छन्, त्यो हेर्न बाँकी छ ।

लिङ्देनको कठिन यात्रा

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देन राजनीतिक निष्ठा र सरलताका लागि चिनिन्छन् । उनको सबैभन्दा बलियो पक्ष भनेको जातीय संकिर्णताबाट माथि उठेर गरेको राजनीति हो । जातलाई भन्दा राष्ट्रलाई अगाडि राख्ने सोचले गर्दा उनी राप्रपाभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय छन् । यसपाली राप्रपाको चुनावलाई लिएर सामाजिक सञ्जालको सहानुभूति लिङदेनप्रति थियो ।

भूईंबाट उठेर राजनीतिमा स्थापित भएका नेता हुन् लिङ्देन । झापाको एउटा सर्वहारा परिवारमा जन्मेका उनलाई लाउन–खानकै दुख थियो ।

लिङदेनले आफ्नो बाल्यावस्थाबारे एक अन्तवार्तामा भनेका थिए, ‘रुखको ठुटामा च्याउ टिपेपछि फेरि कहिले पलाउँछ, निगुरोको मुन्टो चुँडेपछि फेरि कहिले अर्को उम्रिन्छ र अर्कोले टिपेर नलागेस भन्दै रुँघेर छाक टार्नुपथ्र्यो ।’

आफ्नो राजनीतिक जीवनमा पनि लिङदेनले निकै दुख भोगेका छन् । खासगरी जनयुद्धकालमा तत्कालीन माओवादी विद्रोहीबाट प्रताडित भए उनी । २०६१ सालमा झापाको जिविस सभापति छँदा उनको घरमा माओवादीले आगो लगाए । यति मात्रै होइन, उनले सञ्चालन गरेको होटलमा पनि आगजनी गरिएको थियो । त्यसपछि फेरि आफू आर्थिकरुपमा दिवालियाजस्तै बनेको लिङदेन बताउँछन् ।

राजाको प्रत्यक्ष शासनकालमा दुई कार्यकाल गरी १४ महिना जिविस सभापति बनेका लिङदेन दोस्रो जनआन्दोलनपछि हटाइएका थिए । त्यसपछि उनले माइक्रोवस किनेर केही समय आफैले चलाए पनि । गाडीको वर्कसप पनि चलाए । उक्त व्यवसायले लिङदेनलाई आर्थिकरुपमा केही उकासेको थियो ।

तर, उनीमाथि आक्रमणको सिलसिला रोकिएन । राप्रपा नेपालको भर्खर गठन भएका बेला झापामा एउटा कार्यक्रम आयोजना गरिएको थियो । त्यसको तयारीका लागि एउटा होटलमा बसेका लिङदेनसहितका नेताहरुलाई तत्कालीन सात दल र माओवादीका कार्यकर्ताले हमला गरेका थिए । त्यसबेला लिङदेनमाथि मरणासन्न हुने गरी कुटपिट गरिएको थियो ।

गत संसदीय निर्वाचनमा राप्रपाले देशव्यापी हार व्यहोर्दा लिङदेनले संसदमा पार्टीको बिउ जोगाएका थिए । दुईपटक झापामा कांग्रेसका कृष्ण प्रसाद सिटौलासित चुनाव हारेका उनी पछिल्लोपटक सिटौलालाई नै हराएर प्रतिनिधसभाको सांसद बन्न सफल भए ।

लिङदेन र सिटौलाको अर्को पनि संयोग छ । स्कुल पढ्दै गर्दा लिङ्देनलाई एउटा झूटो मुद्दामा फसाएर जेल हालिएको थियो । त्यसबेला सिटौला वकालत पेशमा थिए । सिटौलाले लिङदेनको तर्फबाट बस गरेका थिए र अदालतलेउनलाई सफाइ दिएको थियो । तर, पछि राजनीतिक टकरावका क्रममा उनै सिटौलाले आफूलाई ‘ज्यानमारा’ भनेर दुष्प्रचार गरेको लिङदेन गुनासो गर्छन् ।

लिङ्देनका चुनौति

कमल थापालाई विस्थापित गरेर अध्यक्षको कुर्सीमा बसेका लिङदेनको यात्रा सहज भने छैन । राप्रपाले अघिल्लो चुनावमा खाएको धक्कालाई आगामी चुनावमा बिर्साउने प्रमुख चुनौति उनको सामु छ ।

राप्रपाले बोकेको हिन्दू राज्य र राजतन्त्रको मुद्दामा बढ्दो जनसमर्थन अकाट्य सत्य हो । तर, राप्रपाकै नेतृत्वमा यी दुई एजेन्डा फिर्ता हुन्छन् भनेर विश्वास गर्ने नेपालीहरु कमै छन् । राजतन्त्र र हिन्दू राज्य पक्षधर जनमतको वास्तविक नेतृत्व गर्ने अवसर र चुनौति लिङदेनसित छ ।

लिङदेन राजा फर्काउनका लागि पार्टीले सडक आन्दोलन चाँडै थाल्नुपर्ने पक्षमा छन् । तर, सडक आन्दोलनका बलमा राजा फर्काउने कुरा त्यति सहज छैन । यसका लागि आन्दोलनको ठूलै ज्वारभाटा सृष्टी गर्नुपर्ने हुन्छ, जुन सामथ्र्य अहिलेको राप्रपामा देखिँदैन ।

लिङदेनको तत्कालीन चुनौति चाहिँ पार्टीलाई एक राख्नु नै हुनेछ । अध्यक्ष गुमाएर झट्का खेपेका कमल थापाले लिङदेनलाई सौहार्दपूर्वक बधाइ त दिएका छन्, तर पार्टी सञ्चालनमा कति सहयोग गर्छन् भन्ने आगामी दिनमा देखिने छ । अर्कोतर्फ पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीका परम्परागत गुटहरुलाई पनि उनले समेटेर लैजानुपर्ने हुन्छ ।

अहिलेको निर्वाचन परिणाम हेर्दा पदाधिकारीमा थापा स्पष्ट बहुमतमा छन् । केन्द्रीय सदस्यको समिकरण प्रष्ट भइसकेको छैन । तर, पदाधिकारीमा अल्पमतमा परेको अवस्थामा पक्कै पनि लिङदेनका निम्ति पार्टी सञ्चालन सकसपूर्ण हुन सक्छ । यद्यपि, अब मनोनित हुने सहमहामन्त्री र प्रवक्ताका पदहरुमा ‘आफ्ना मान्छे’ ल्याएर उनले सन्तुलन मिलाउन सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर