अब ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ हुने
काठमाडौं । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को सुरु गर्ने भएको छ ।
कलेजले एक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुइ) को सम्बन्धनमा सुरु गर्ने जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नयाँ शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे । नेपाल राष्ट्र बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महशुस गरेको बताउँदै मिश्रले ब्रिटिस कलेजले यस्तो पाठ्यक्रमलाई संचालन गर्न लागेकोमा खुसी व्यक्त गरेका हुन् ।
नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पु¥याउने जनशक्ति निर्माण बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताए ।
यसै क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम नेपालमै नौलो भएको भन्दै उनले भने, ‘नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढिरहेको छ त्यसैले देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता छ । यस्ता शैक्षिक कार्यक्रमहरु मार्फत हाम्रो सुरक्षा हुनेछ र सुरक्षित डिजिटल नेपाल निर्माण गर्न मदत गर्न हामीले चाहेका छौं। साथै, यस कार्यक्रमबाट नेपाली युवाहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न ज्ञान र सीप प्राप्त गर्नेछन् ।’
कलेजले सन् २०२२ को जनावरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’कार्यक्रमको पढाई सुरु गर्दैछ ।