अर्जुन जोशीको विर्सनलायक संयोग: पुरानो टिममा जितको ह्याट्रिक, देउवा टिममा हारको – Nepal Press

अर्जुन जोशीको विर्सनलायक संयोग: पुरानो टिममा जितको ह्याट्रिक, देउवा टिममा हारको

काठमाडौं । ह्याट्रिकको महत्व खेलकुदमा हुन्छ । यद्यपि राजनीतिमा कहिलेकाहीँ ह्याट्रिकको प्रसङ्ग आउँछ । लगातार ३ पटकसम्मको सफलता वा असफलतालाई राजनीतिमा पनि ‘ह्याट्रिक’ को रुपमा व्याख्या गर्ने गरिन्छ । नेपाली कांग्रेसको राजनीतिमा अर्जुन जोशी एक त्यस्ता पात्र हुन् जोसँग दुवै ‘ह्याट्रिक’ को अनुभव छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापतिमा जोशी पराजित रहे । प्रदेश सभापतिमा सबैभन्दा हेभीवेट उम्मेदवारका रुपमा हेरिएका जोशी पाका नेता शुक्रराज शर्मासँग ८५ मतले स्तब्ध भए । कुनै बेला गण्डकी-धौलागिरीमा पुरानो संस्थापन अर्थात कोइराला पक्षका ‘जुझारु नेता’ का रुपमा अर्जुन जोशीको पहिचान थियो ।

२०५६ सालको संसदीय निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पर्वतबाट शानदार मतसहित जोशी विजयी भएका थिए । कांग्रेसमा लगातार ३ पटकसम्म आम निर्वाचन जितेरपनि जोशीले मन्त्री बन्ने मौका भने पाएनन् । गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालादेखि रामचन्द्र पौडेलसम्मको विश्वासपात्र रहेपनि जोशीले मन्त्री बन्ने अवसर पाएनन् ।

जनता र कार्यकर्ताबाट निरन्तर अनुमोदित हुँदापनि यथोचित अवसर नपाएकै कारण हुनुपर्छ १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा जोशीले ‘गुट’ परिवर्तन गरे । १३ औं महाधिवेशनमा सभापतिको प्रत्याशी रहेका रामचन्द्र पौडेलको निकट मानिएका जोशीले सभापतिमा शेरबहादुर देउवालाई सघाउने निर्णय लिए । १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित त भए तर जोशी केन्द्रीय सदस्यमा पराजित भए ।

लगातार चुनाव जित्ने छवि बनाएका जोशी १३ औं महाधिवेशनमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य चुनिन सकेनन् । सभापति देउवाले पछि उनलाई केन्द्रीय समितिमा मनोनीत गरे ।

नयाँ गुटमा लागेपछि गण्डकीको राजनीति जोशीका लागि चुनौतीपूर्ण नै थियो । यद्यपि पर्वतमा उनको छवि सबैका लागि ‘साझा’ जस्तै बनेको थियो । केन्द्रमा अलग गुटमा जोडिएपनि पर्वतमा अधिकांश कांग्रेस कार्यकर्ता जोशीसँगै जोडिएका थिए । कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएपनि रुपान्तरित संसदमा रहेका जोशी मन्त्री बन्ने सम्भावित सूचीमा थिए । यद्यपि देउवाले पनि जोशीलाई त्यो अवसर दिएनन् । अन्तिम समयमा जोशीको नाम काटियो ।

२०७४ सालको संसदीय निर्वाचनमा जोशी चौथोपटक पर्वतमा उम्मेदवार बने । संसदीय राजनीतिमा उनको जितकाे ह्याट्रिक टुंगियो । वामगठबन्धनका एमाले उम्मेदवार पदम गिरीसँग उनी पराजित रहे । २६ हजार ५ सय १९ मत ल्याउँदा पनि जोशी १२ हजार ७ सयभन्दा बढी मतले पछि परे । साविक संस्थापन टिम छाडेपछि उनको यो दोस्रो पराजय थियो ।

यसपटक जोशीलाई कांग्रेस पदाधिकारीमा दावी गर्ने अवसर थियो । यद्यपि संस्थापन पक्षले उनलाई गण्डकी प्रदेशको सभापतिमा प्रस्ताव गर्‍यो । केन्द्रीय राजनीतिमा छाइसकेका जोशीले प्रदेश सभापतिमा उम्मेदवारी दिदाँ जित सहज हुनेमा संस्थापनका नेताहरु ढुक्कजस्तै थिए । त्यसमा पनि संस्थापन इतर पक्षले गण्डकीका कास्की, तनहुँ, लमजुङ, म्याग्दी, पर्वत, मनाङजस्ता जिल्लामा हार व्यहोरेको थियो । संस्थापन इतरबाट ५ जना आकांक्षी रहेकोले जोशीको दावेदारी बलियो मानिएको थियो । यद्यपि अन्तिम समयमा वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइराला लगायतले शुक्रराज शर्मालाई प्रदेश सभापतिको उम्मेदवार बनाए । परिणाममा जोशी पराजित भए । १३ औं महाधिवेशनमा साविक संस्थापन छाडेयता जोशीको ‘हारमा ह्याट्रिक’ भयो ।

गण्डकी प्रदेशको राजनीति बुझेका नेताहरु जोशीलाई एक शालीन संगठकका रुपमा लिन्छन् । उनका पिता अमृत जोशीले लामो समय पर्वत कांग्रेसलाई नेतृत्व गरेका थिए । उनले पनि पर्वत कांग्रेसको सभापति हुँदै केन्द्रीय राजनीतिमा स्थापित भएका थिए । अहिले अर्जुनका भाई युवराज पर्वत कांग्रेसको सभापति बनेका छन् । तर प्रदेश सभापतिमा व्यहोरेको हारले उनलाई केही हदसम्म ‘सेटब्याक’ गरेको छ । यद्यपि जोशीका निकटस्थहरु हार वा जितले उनको योगदानलाई ‘मिनिमाइज’ नगर्ने बताउँछन् । ‘यो संयोग हो कुनैबेला उहाँले लगातार चुनावहरु जित्नुभयो । अहिले केही कारणले हार्नुभयो । राजनीतिमा यस्तो भइरहन्छ । पर्वत जिल्ला र समग्र कांग्रेसमा उहाँको योगदानलाई जितहारको दृष्टिले मात्रै हेर्नु अन्याय हो’, जोशी निकट एक नेताले भने ।


प्रतिक्रिया

One thought on “अर्जुन जोशीको विर्सनलायक संयोग: पुरानो टिममा जितको ह्याट्रिक, देउवा टिममा हारको

  1. बढि महत्वकाँक्षि हुनुको फल होकि कुन्नि,गुट परिवर्तन नगरेकोभए पनि हुन्थ्यो के रे,धेरै बाठो हुँदा कुरा बिग्रियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर