माओवादी कर्णाली प्रदेश सम्मेलनमा ११ सय प्रतिनिधिको सहभागिता रहने – Nepal Press

माओवादी कर्णाली प्रदेश सम्मेलनमा ११ सय प्रतिनिधिको सहभागिता रहने

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको सम्मेलन मंसिर २५ गते सिटी हल वीरेन्द्रनगरमा हुँदैछ । पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल रुपमा सम्बोधन गर्ने सम्मेलनमा कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत, पार्टी संगठन विभाग प्रमुख जनार्दन शर्माको उपस्थिति हुनेछ ।

कर्णाली प्रदेशका ११ सय जना प्रतिनिधहरुको सहभागी हुने बन्दसत्रसहितको कार्यक्रमको तयारी करिब पुरा भएको जिल्ला समन्वय समिति संयोजक कृष्ण जिसी जितेन्द्रले नेपालप्रेसलाई जानकारी दिए ।

‘हाम्रो आठ सयजना प्रतिनिधि, प्रदेश सदस्य, ज्येष्ठ कम्युनिष्ट सदस्यसहित ११ सय जना प्रतिनिधि पुग्छन्,’ उनले प्रतिनिधि संख्याबारे प्रष्ट्याए ।

उनका अनुसार सबैभन्दा बढी रुकुम पश्चिमबाट प्रतिनिधि छानिएर आएका छन् । बाँकी जिल्लामा करिब बराबरीको संख्यामा प्रतिनिधिहरु छानिएका छन् । कर्णालीबाट ८७ हजार जनाले सदस्यता नवीकरण गरेका छन्, भने ४५ सय जनाको इन्ट्री हुन बाँकी रहेको उनको भनाई छ ।

‘हामीले सम्मेलनलाई भडकिलो नबनाउने निर्णय गरेका छौं । आएका प्रतिनिधिले खानेबस्ने व्यवस्था आफैंले मिलाउनु पर्नेछ तर प्रतिनिधिका लागि चिया र नास्ताको व्यवस्था भने हामीले गरेका छौं,’ उनी भन्छन्, ‘स्वागत गेट बनाउने, तामझाम गर्ने पक्षमा हामी छैनौं ।’

उनले पार्टीको विधानले निर्वाचन प्रक्रिया अन्य दलको भन्दा फरक रहेको बताए । ‘अधिवेशनले १७५ जना प्रदेश कमिटी सदस्य चयन गर्छ ।

यदि सर्वसम्मत नभएको खण्डमा वा १७५ जना भन्दा बढीको मनोनयन परेको खण्डमा ११ सय प्रतिनिधिले मतदान गरेर १७५ जनाको प्रदेश कमिटी सदस्य चयन गर्ने व्यवस्था छ,’ उनले भने, ‘ती १७५ जनाले पदाधिकारी छान्ने र पदाधिकारीको कार्यविभाजन पश्चात नै अन्य पद टुंगिन्छ । पालिका, प्रदेश र महाधिवेशनमा पनि यहि प्रक्रिया अन्तर्गत पदाधिकारी चयन हुनेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर