स्वदेशी अभियानअन्तर्गत व्यवसायीलक्षित वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक – Nepal Press

स्वदेशी अभियानअन्तर्गत व्यवसायीलक्षित वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाउने क्रममा स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट र मोबाइल एप सार्वजनिक गरेका हुन् ।

स्वदेशी अभियानमा आबद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवदेन दिन सकिने व्यवस्था मिलाइएको छ । यसैगरी स्वदेशी अभियानका जानकारी पनि मोबाइल एप्लिकेसन र वेबसाइटमा समावेश छ ।

स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आबद्ध भएको छ । नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्ने गरी अभियानको प्रारम्भ गरिएको छ ।

परिसंघले नेपालको व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन र देशको दीगो आर्थिक विकासको आधारशीला नै औद्योगिक विकास हो भन्ने मूल सन्देशसहित यो अभियान अघि बढाएको छ । अभियानको कार्यान्वयनसँगै देशमा औद्योगिक विकास र रोजगारी सिर्जनामा गुणात्मक परिवर्तन आउने परिसंघको विश्वास छ ।

स्वदेशी बेवसाइट सार्वजनिकको क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्य अभियानले राखेको बताए । उनले स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगीकरणमा पनि टेवा दिने उल्लेख गरे ।

अध्यक्ष अग्रवालले नेपालको औद्योगीकरणका लागि आवश्यक नीतिगत मध्येस्थताका विषयमा नेपाल सरकारलाई अध्ययनसहितको प्रतिवेदन प्रस्तुत गर्ने जानकारी पनि दिए ।

यसैगरी परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि बढाएको बताए ।

परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्दै नियार्त वृद्धि गर्ने लक्ष्य अभियानले राखेको जानकारी दिए ।

स्वदेशी वर्किङ कमिटीका संयोजक हितेश गोल्छाले बेवसाइट र एप्लिकेसनबाट सम्पूर्ण जानकारी पाइने भन्दै सम्पूर्ण स्वदेशी वस्तु तथा सेवा उत्पादकलाई यस अभियानमा आवद्ध हुन आग्रह समेत गरेका छन् ।

स्वदेशी अभियान कार्यान्वयन गर्दै नेपालको कूल गार्हस्थ्य उत्पादनमा संरचनागत परिवर्तनका लागि ३४ वटा नीतिगत मध्येस्थता तय भएका छन् । त्यसमा श्रृंखलाबद्ध छलफल गर्दै नेपालमा उद्योगमैत्री वातावरण तयार गर्ने परिसंघको उद्देश्य रहेको छ ।

वार्षिक १ हजार उद्योग दर्ता, सन् २०२५ सम्ममा कूल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र आगामी ५ वर्षमा निर्यात ४.६ अर्ब डलर बराबरको पुर्‍याउने लक्ष्य अभियानका रहेका छन् ।

स्वदेशी अभियानमा जोडिने वस्तु तथा सेवा उत्पादकले स्वदेशी लोगो पाउनेछन् । यस लोगोले स्वदेशी वस्तु गुणस्तरीय हुन्छन्, स्वदेशी लोगो प्रयोग भएका वस्तु मूल्यमा प्रतिस्पर्धी हुन्छन्, नेपालमा मूल्य अभिवृद्धि भएको हुने, स्वच्छ व्यापारको प्रवर्द्धन गर्ने, वातावरणमैत्री व्यवसाय र उत्पादनको सुनिश्चितता तथा नैतिक अभ्यास जस्ता विषयको सुनिश्चितता गदर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *