कमल थापाको कुर्सी खाली राखेर राप्रपाको बैठक, यस्ता छन् निर्णय – Nepal Press

कमल थापाको कुर्सी खाली राखेर राप्रपाको बैठक, यस्ता छन् निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज बसेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा भने अनुपस्थित रहे ।

पार्टीको चुनावमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै असन्तुष्ट रहेका नेता थापाले पहिलो बैठक बहिष्कार गरेका हुन् । अन्य दुई पूर्वअध्यक्ष पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी भने बैठकमा उपस्थित थिए । राप्रपामा पूर्वअध्यक्षहरु केन्द्रीय समितिको पदेन सदस्य हुने प्रावधान छ ।

थापा अनुपस्थित भएपछि उनी बस्ने कुर्सी खाली छोडिएको थियो । मञ्चमा लिङदेनको बायाँतर्फ राणा र लोहनी बसेका थिए भने दायाँतर्फको कुर्सी खालि छोडिएको हो । पूर्वअध्यक्षको सम्मानका लागि कुर्सी खाली राखिएको बुझिएको छ ।

आज बसेको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह तथा धार्मिक क्षेत्रसँग एकता र सहकार्य गर्ने निर्णय लिएको छ । यसका लागि आवश्यक संवाद गर्न महामन्त्री धवलशम्शेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी र पुष्पराज पुरुषसदस्य छन् ।

यस्तै, आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । पार्टीको मर्यादाक्रम मिलाउनका लागि उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समितिसमेत गठन भएको छ । पार्टीका सबै भातृ संगठनलाई आगामी १५ दिनभित्रमा अनिर्वायरुपले महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पेश गर्न बैठकले निर्देशन दिएका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर