सगरमाथाको ‘उचाई बढेको’ एक वर्ष : मापनको विस्तृत प्रतिवेदन खोई ? – Nepal Press

सगरमाथाको ‘उचाई बढेको’ एक वर्ष : मापनको विस्तृत प्रतिवेदन खोई ?

इटहरी । नेपाल र चीन सरकारले संयुक्तरूपमा सगरमाथाको मापन गरी नयाँ उचाईं कायम गरेको ठीक एक वर्ष भयो । तर, अझैसम्म पनि सगरमाथा मापनको पूर्ण प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

२०७७ मंसिर २३ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा एक कार्यक्रममार्फत नयाँ उचाई सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सगरमाथा मापनको पूर्ण प्रतिवदेन पुस्तकको रुपमा सार्वजनिक गर्ने बताएका थिए । तर प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । पाण्डे हाल गृह मन्त्रालयका सचिव छन् ।

सगरमाथाको उचाई सार्वजनिक तथा सन् २०१९ मे २२ (२०७६ जेठ ८) मा चुचुरोमा पुगेर ‘समिट अब्जरभेसन’ गर्ने सर्वेयरहरु खिमलाल गौतम तथा रविन कार्कीलाई सम्मान गर्ने कार्यक्रममा सचिव पाण्डेले भनेका थिए, ‘हामीले यो काम गर्दा ठुलो अनुभव हासिल गरेका छौं । विभिन्न अभ्यासहरु स्थापित भका छन् । त्यो अनुभव र अभ्यास त्यो प्रतिवेदनमा छ होला । त्यसलाई विधिवत रुपमा फाइनल गरौं र त्यहाँ पुस्तकको रुपमा प्रकाशन गरौं । ताकि भोली संसारको लागी रिफ्रेन्स मेटरियल बन्छ ।’

नापी विभागका प्रवक्ता दामोदर ढकालले भने प्रतिवेदन सार्वजनिक भइसकेको दावी गरे ।

उनले भने, ‘हाम्रो वेबसाइटमा नै राखिएको छ ।’

तर, तत्कालिन सचिव पाण्डेले भने जस्तो पूर्णप्रतिवेदन वेबसाइटमा राखिएको छैन । सामान्य जानकारी मात्रै राखिएको छ ।

नापि विभागका पुर्व महानिर्देशक तथा नेपालका बरिष्ठ सिमाविद् बुद्धिनारायण श्रेष्ठले वेबसाइटको जानकारीले प्रतिवेदनको केही छनक दिए पनि पुर्ण प्रतिवेदन भने नभएको प्रतिक्रिया दिए ।

उनले भने, ‘वेबसाइटमा राखिएको सूचनाले प्रतिवेदनको केही छनक भए पनि यसले सम्पुर्ण सुचनाहरु दिएको छैन । जिपिएस रिडिङका कोअर्डिनेट्सहरुदेखि सबै प्राविधिक कुरा राखेर सगरमाथा मापनको डिटेल कुरा दिन सके वैज्ञानिक तथा अन्वेषकहरुबाट थप सगरमाथा उचाई मापनमा अहिले पाएको भन्दा थप धेरै इन्डोर्समेन्ट हुन्थ्यो ।’

सगरमाथा मापनको विस्तृत प्रतिवेदन दिन सकिएमा त्यसको अध्ययनले धेरैलाई सुक्ष्म जानकारी समेत जानकारी हुने भन्दै श्रेष्ठले वेबसाइटमा भएको सूचनाले नपुग्ने बताए ।

यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ मापनपछि ८८४८.८६ मिटर कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *