युवराज न्यौपानेले गरे कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता – Nepal Press

युवराज न्यौपानेले गरे कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता युवराज न्यौपानेले सभापतिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

शुक्रबारबाट सुरु भएको १४ औं महाधिवेशनमा न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा उठेपनि अहिले देखिएका उम्मेदवारहरुले कांग्रेस परिवर्तनको एजेण्डा आत्मसात गर्न नसकेको भन्दै न्यौपानेले उम्मेदवारी दिएको बताएका छन् ।

गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित न्यौपानेले पार्टीमा बारम्बार परीक्षण भइसकेका अनुहारलाई फेरी अवसर दिन नहुने बताए ।

‘कांग्रेसको सभापतिमा दावी गर्ने हरेक नेता आजसम्म कुनै न कुनै पद र भूमिकामा हुनुहुन्छ । कांग्रेसमा नेतृत्व परिवर्तन भनेको त उहाँहरु समेतको परिवर्तन हो नि’, न्यौपानेले नेपाल प्रेससँग भने ।

वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका नेताले युवा उमेरमै कांग्रेस स्थापना गरेको स्मरण गराउँदै न्यौपानेले अबपनि कांग्रेसमा युवापुस्ताले नै नेतृत्व गर्नुपर्ने बताए ।

आफ्नो उम्मेदवारीलाई हलुका ढंगले नलिन आग्रह गर्दै न्यौपानेले पार्टीभित्र नेतृत्व परिवर्तन, रुपान्तरण र नयाँ पुस्ताको सरोकार समेट्न आफूले उम्मेदवारी दिएको उनले बताए ।

अहिले कांग्रेस महाधिवेशनको दोस्रो दिन नेताहरुले आफ्नो उम्मेदवारी दर्ता गराइरहेका छन् । यसअघि नेता कल्याण गुरुङले पनि सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफू सभापतिमा नलड्ने घोषणा गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर