सुदूरपश्चिम माओवादी अध्यक्षका यी हुन ९ आकांक्षी (सूचीसहित) – Nepal Press

सुदूरपश्चिम माओवादी अध्यक्षका यी हुन ९ आकांक्षी (सूचीसहित)

कैलाली । धनगढीमा शनिवारबाट माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलन शुरु भएको छ । शनिवार र आइतबार गरी दुई दिन सम्म चल्ने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । सम्मेलनमा प्रदेशका ९ वटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

शनिवार उद्घाटनसत्र रहे पनि आइतबार साझ वा सोमबार बिहानसम्म माओवादीले प्रदेशमा नयाँ नेतृत्व पाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरमान चौधरीले बताए ।

‘हामी सर्वसम्मत रूपले भोलि साझ वा पर्सि बिहान सम्म नेतृत्व टुङ्गो लगाउँछौँ’ उनले भने ‘सहमतिको प्रयास भइरहेको छ ।’

२२३ सदस्यीय प्रदेश समितिमा १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी चयन हुनेछन् । तर, अहिले सम्म आधा दर्जन बढी अध्यक्ष पदका आकांक्षी छन् ।

को को हुन् अध्यक्षका आकांक्षी ?

सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि अहिले सम्म कसैले पनि औपचारिक उम्मेदवारी घोषणा गरेका छैनन् । तर, अध्यक्ष पदका लागि लबिङ भने तीव्र देखिएको छ ।

अध्यक्षमा सबै भन्दा धेरै कैलालीबाट आकाङ्क्षी देखिएका छन् । कैलालीबाट प्रदेश सभा सदस्य वीरमान चौधरी, राष्ट्रिय सभा सदस्य हरि चौधरी (उत्सव) , हरि ज्ञवाली (अखण्ड) र नेप बहादुर चौधरी अध्यक्षको दौडमा छन् ।

कञ्चनपुर देवीलाल चौधरी र अछामबाट शरदसिंह भण्डारी पनि अध्यक्षका आकांक्षी रहेको माओवादी स्रोतले बताएको छ । चौधरीले हाल प्रदेश सचिव हुन् भने भण्डारी प्रदेश अध्यक्ष हुन् ।

त्यस्तै बझाङका जनक बुढा र बैतडीका नरेन्द्र कुवँर पनि अध्यक्षको दौडमा रहेको बताइएको छ । डडेल्धुराका अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट पनि अध्यक्षको दौडमा रहेका छन् । उनी प्रदेश इन्चार्ज खगराज भट्टका सहोदर भाइ हुन् ।

अध्यक्ष बाहेक अन्य ८ पदाधिकारी हुने भए पनि अहिले सम्म अधिकांश नेता अध्यक्षमै बाजी मार्ने दाउमा छन् । आकांक्षीहरु धेरै हुँदा सर्वसम्मत गर्न निकै सकस हुने देखिएको छ ।

‘सर्वसम्मतको प्रयास जारी छ तर धेरै आकांक्षी भएको हुँदा सबैलाई मनाउन कठिन छ’, माओवादी स्रोतले भन्यो ।

२२३ सदस्यीय प्रदेश समिति तयार गरेर त्यहीबाट पदाधिकारी चयन गर्ने रणनीति रहेको समेत माओवादी स्रोतको दाबी छ ।

सुदूरपश्चिममा हाल माओवादी केन्द्रका १३ जना केन्द्रीय सदस्य छन् । १७५ जनाको प्रदेश आयोजक समिति छ भने हाल १ हजार १४७ जना प्रतिनिधिहरू पालिका अधिवेशनबाट छनोट भई आएका छन् ।

१ व्यक्ति, १ पदको नीति लिएको माओवादीमा केन्द्रीय सदस्यले प्रदेश पदाधिकारी बन्नको लागि केन्द्रीय सदस्यबाट राजीनामा दिनुपर्ने प्रावधान छ ।

यस्तो अवस्थामा केन्द्रीय सदस्य नरहेकाहरूलाई पदाधिकारीमा ल्याउने कसरत भइरहेको माओवादी स्रोतको दाबी छ ।

१३ केन्द्रीय सदस्य मध्ये १० प्रदेशका सह इन्चार्ज

माओवादी केन्द्रमा सुदूरपश्चिम प्रदेशबाट १३ जना केन्द्रीय सदस्य रहेका छन् ।

डडेल्धुराबाट खगराज भट्ट, दार्चुलाबाट लक्ष्मी जोशी, बैतडी नरेन्द्र कुँवर र रेणु चन्द, बझाङबाट देवराज रेग्मी , अछामबाट टीएम स्वार र शरदसिंह भण्डारी, डोटीबाट त्रिलोचन भट्ट , कञ्चनपुरबाट बिना मगर र देवीराम चौधरी , कैलालीबाट नेप चौधरी, रुपा चौधरी र वीरमान चौधरी केन्द्रीय सदस्य हुन् ।

केन्द्रीय सदस्य रहेका नेप चौधरी र रुपा चौधरी दम्पती हुन् । नेप प्रदेशका सह इन्चार्ज छन् भने रुपा कैलालीको इन्चार्ज हुन् । केन्द्रीय सदस्य रहेको १३ मध्ये १० जनालाई प्रदेशका सह इन्चार्ज तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर