माओवादी कर्णाली प्रदेशको अध्यक्षमा जुटेन सहमति – Nepal Press

माओवादी कर्णाली प्रदेशको अध्यक्षमा जुटेन सहमति

पदाधिकारी टुंग्याउने जिम्मा शक्ति बस्नेत र महेन्द्र शाहीलाई

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको पहिलो सम्मेलनले नेतृत्व टुंगो लगाउन सकेको छैन । शनिबारदेखि सुरू भएको सम्मेलनमा अध्यक्ष कसलाई बनाउने भन्नेबारे सहमति नजुटेपछि नेतृत्व चयनमा ढिलाइ भएको हो ।

१० जिल्ला रहेको कर्णालीमा नौ पदाधिकारी नौ जिल्लाबाट बनाउने तयारी भएपनि अध्यक्ष को बन्ने भन्नेमा सहमति नहुँदा सम्मेलनमा नेतृत्वको टुंगो नलागेको हो ।

अध्यक्ष कार्यकारी पद भएका कारण केन्द्रीय सदस्य भन्दा पनि प्रदेश अध्यक्ष बन्न १४ जना केन्द्रीय सदस्य लगायतले तीब्र लविङ गर्दा नेतृत्व कसलाई बनाउने भन्ने सकसमा परेको हो । जनार्दन शर्मा ‘प्रभाकर’ ले भने विगतकोजस्तो हस्तक्षेप नगरेको बताइएको छ ।

‘प्रभाकर कामरेड जहिले पनि नेतृत्वमा रुकुम नै आउनुपर्छ भनेर भन्नु हुन्थ्यो । यसपटक उहाँले गुटगत विचार र स्वभाव देखाउनु भएन’ माओवादीका एक केन्द्रीय सदस्य भन्छन्, ‘नेतृत्व चयन गर्नेकुरा शक्ति बस्नेत र महेन्द्रबहादुर शाहीको जिम्मामा लगाएर उहाँ काठमाडौं जानु भएको छ ।’

हिजोको बन्दसत्रमा राजनीतिक प्रतिवेदनमा छलफल भएको थियो । समूह विभाजन गरेर छलफल गरि राजनीतिक प्रतिवेदन पारित गरिएको माओवादीले जनाएको छ । आज नेतृत्वको टुंगो लगाउने र सम्मेलनलाई आजै टुंग्याउने माओवादी तयारी रहेको पूर्वमुख्यमन्त्री एवं माओवादी नेता महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

‘हामी सर्वसम्मत नेतृत्व चयन गर्छौं’ नेपाल प्रेससँग शाहीले भने,‘आजै पदाधिकारी देखि २११ जना सदस्य चयन हुन्छन् । योग्य र क्षमतावान नेतृत्व हामी चयन गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर