‘देउवाका लागि गोली खान तयार छु’ भन्दै एक युवाले देखाए रमिता
काठमाडौं । कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप क्षेत्रमा तीन दिनदेखि छुट्टै रौनक छ । कांग्रेस नेता–कार्यकर्ताका मेला लागेको यस स्थानमा दिनभरि थरिथरि दृष्यहरु देखिन्छन् ।
सोमबार नयाँ नेतृत्व चयनको लागि मतदान हुँदै गर्दा बाहिर सडकमा एक युवाले एकछिन रमिता देखाए । आफूलाई शेरबहादुर देउवाको डाइहार्ड फ्यान बताउँदै उनले सडकमा उफ्रिपाफ्री गरेका थिए ।
महाधिवेशनस्थलमा एक्लै आएका युवकले सुरुमा देउवाको पक्षमा नारा लगाउँदै होहल्ला गरे ।
उनी भन्दै थिए, ‘म शेरबहादुर देउवाको लागि गोली खान तयार छु । उहाँले जित्नै पर्छ । अरु आए भने कांग्रेस सकिन्छ ।’
ती युवाले होहल्ला गरेपछि प्रहरी आएर पिटपाट पार्दै नियन्त्रणमा लिने प्रयास गरेको थियो । यस क्रममा नेपाल प्रेसकर्मीले तस्वीर लिन थालेपछि प्रहरीले उनलाई यत्तिकै सडकमा छोडेर हिँड्यो । उनी फेरि उठेर देउवाको लागि गोली खाने भन्दै यताउति घुमिरहेका छन् । उनले मदिरा पनि सेवन गरेको पाइएको छ ।