हातमा अमेरिकी पासपोर्ट, कांग्रेस चुनावमा भोट – Nepal Press

हातमा अमेरिकी पासपोर्ट, कांग्रेस चुनावमा भोट

इटहरी । नेपाली कांग्रेसको विधान विपरित एक अमेरिकी नागरिक नेपाली कांग्रेसको चौधौं महाधिवेशन प्रतिनिधि बनेर आएको खुलासा भएको छ । नेपालबाट गएर अमेरिकाको नागरिकता लिएका विश्वराज बास्तोला १४ औं महाधिवेशनमा भोट हाल्न आएका हुन् ।

न्यू योर्क लङआइल्यान्डमा बसोबास गर्ने बास्तोला अमेरिकी सरकारको पासपोर्ट बोकेर नेपाल आएका छन् । सन् २०२० फेब्रुअरी २५ मा जारी भएको ६५८०१४५८५ नम्बरको पासपोर्ट उनीसँग छ ।

लाइन्स क्लबको सदस्यको हैसियतले केही वर्ष अगाडि अमेरिका छिरेका बास्तोलाले माओवादी पीडितको रुपमा शरणार्थी बनेर अमेरिकी नागरिकता लिएका हुन् । नेपालमा उनी शिक्षक थिए । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी पोखरामा बस्ने गर्थे ।

शिक्षक संघको पूर्वकेन्द्रिय सदस्यको रुपमा अमेरिकाबाट महाधिवेशन प्रतिनिधिमा चयन भएकोमा शिक्षक संघ पोखराका सचिव पुषोत्तम सापकोटाले समेत सामाजिक सञ्जालबाट बधाई दिएका थिए । नेपाली कांग्रेसको विधान २०१७ अनुसार नेपाली कांग्रेसको सदस्य बन्न नेपाली नागरिक हुनैपर्ने अनिवार्य प्रावधान छ । विधानको दफा ४ को १ (क) ले यस्तो व्यवस्था गरेको छ ।

विधानमा विदेशस्थित जनसम्पर्क समितिको सदस्य हुन समेत नेपाली नागरिक हुनुपर्ने प्रावधान छ । विधानको दफा १२ (क) मा भनिएको छ, ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गर्न योग्यता पुगेको व्यक्ति’ सदस्य हुने प्रावधान छ । बास्तोला जनसम्पर्क समिति लङआइल्यान्ड च्याप्टरका अध्यक्ष समेत हुन् ।

गैरआवासीय नेपाली संघ अमेरिकाको सदस्यसमेत रहेका बास्तोलाले नेपाली कांग्रेसको विधान मात्रै हैन गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएको विधान समेत उल्लंघन गरेका छन् ।

 

गैरआवासीय नेपाली संघले कुनै पनि राजनीतिक क्षेत्रमा सक्रियताको विधानतः निषेध गरेको छ । उनी वर्ष २०२१ मै अमेरिकाको गैरआवासीय नेपाली संघमा सदस्य भएका हुनु । गैरआवासीय नेपाली संघको विधान २००३ को प्रस्तावनामै संघलाई ‘गैरराजनीतिक’ भनिएको छ ।

बास्तोला मात्रै हैन अमेरिकाबाट ८ अमेरिकी नागरिकहरु अमेरिकी पासपोर्ट बोकेर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएको आएको गैरआवासिय नेपाली संघ अमेरिकाका एक सदस्यले बताए ।

उनले भने, ‘मान्छे छन् अमेरिकामा राजनीति गर्छन् नेपालको ।’

अमेरिकी नागरिकहरुले नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिएको विषयमा उच्च अदालत पाटनमा समेत उत्प्रेषण मुद्धा परेको थियो । निवेदक सुवर्ण लामाले कांग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी बनाएको निवेदनमा न्यायाधीश श्रीमणकुमार गौतमले अन्तरिम आदेश भने दिएनन् ।

मंसिर २६ गतेको फैसलामा भनिएको छ, ‘निर्वाचनमा प्रतिनिधिसमेत नभएको देखिनुका साथै विपक्षीका नाममा अन्तरिम आदेश जारी नगरिएमा निवेदकलाई अपूरणीय क्षति हुने समेत नदेखिएको परिप्रेक्षमा निवेदकले उठाएको विषयमा अन्तरिम आदेश हुँदाका बखत विश्लेषण हुने नै हुँदा निवेदनको माग बमोजिम विपक्षिहरुका नाममा अन्तरिम आदेश गर्नु परेन ।’


प्रतिक्रिया

One thought on “हातमा अमेरिकी पासपोर्ट, कांग्रेस चुनावमा भोट

  1. नेपाल हो जे पनि हुन्छ चल्छ त्यो खासै ठुलो कुरा हैन। अमेरिका बसेर नेपालमा तलब भत्ता पाक्ने राष्ट्रको नागरिक हामी त्योत नर्मल भैहाल्यो ठुलो कुरा हैन। पैसा र पाओर को लागि आफ्नो पार्टीको सरकारलाई अबिस्वासको मत हालेर ढालेर अर्को पार्टीमा गएर सरकार बनाइएको इतिहास का प्रधानमन्त्री शेर बहादुर देउवा प्रत्यक्ष तपाई हाम्रो अगाडि देश हाकी राछन ५चौ पटक नेपालको प्रधानमन्त्री हुन सफल भएका छन। अमेरिकी नागरिकले प्रतिनिधि भएर भोट हाल्नु सामान्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर