कांग्रेस महाधिवेशन : १०० मत गणना हुँदा देउवाले ५० मत पाए, अन्यको कति ? – Nepal Press

कांग्रेस महाधिवेशन : १०० मत गणना हुँदा देउवाले ५० मत पाए, अन्यको कति ?

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । अहिले मतगणना जारी रहेको छ ।

नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको मतगणना सुरु भएको हाे । सभापतिमा पहिलो १०० मत गन्दा शेरबहादुर देउवाको ५० मत आएको छ । डा। शेखर कोइरालाको ३५ मत आएको छ भने प्रकाशमान सिंहले ३ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ११ मत ल्याउँदा कल्याण गुरुङले १ मत पाएका छन ।

मतदान सकिएको धेरै समयपछि मात्रै गणना सुरु भएको थियो । मतदान सोमबार राति साढे ११ बजे सकिएको भएपनि गणना भने मंगलबार विहान ४ बजेर ५ मिनेटबाट मात्रै सुरु भएको थियो । नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।

सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ । २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।

कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।

विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान करिब ४ घण्टा ढिलो गरी सुरु भएको थियो । पछि तीन पटकसम्म समय थप गरेर राति साढे ११ बजेसम्म मतदानको समय तोकेको थियो ।

निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो ।

अब कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको ५० प्रतिशत बढी मत अर्थात पहिलो चरणमा नै २३४० मत आवश्यक रहनेछ ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशत भोट ल्याउन नसकेमा फेरि मतदान हुनेछ ।

नेपाली कांग्रेसको यो महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १३ जना पदाधिकारी चयन गर्नेछ । यस्तै १ सय २१ कांग्रेस केन्द्रीय समिति सदस्य पनि चयन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर