प्रकाशमान र निधिको निर्णायक शक्ति– पहिलो चरणमा रोक्ने, दोस्रोमा कसलाई बोक्ने ? – Nepal Press

प्रकाशमान र निधिको निर्णायक शक्ति– पहिलो चरणमा रोक्ने, दोस्रोमा कसलाई बोक्ने ?

काठमाडौं । कांग्रेस सभापतिका पाँचजना उम्मेदवारमध्ये संस्थापनइतर समूहबाट फुटेका प्रकाशमान सिंहको भूमिका आफ्नो समूहलाई हराउन सहयोगी बनेको छ । संस्थापन पक्षबाट फुटेका विमलेन्द्र निधिले अपेक्षाकृत मत प्राप्त गर्दा प्रकाशमानको उम्मेदवारी संस्थापनइतर समूहको पहिलो चरणको जितमा बाधक देखिएको छ ।

पहिलो चरणमा खसेको कुल ४६८१ मतमध्ये देउवाले २२५८ प्राप्त गर्दा शेखरले १७२९ मत प्राप्त गरे । प्रकाशमानले ३७१ मत प्राप्त गरेका छन् भने विमलेन्द्र निधिले २४९ मत प्राप्त गरेका छन् । यदि दुवैजनाले शेखरलाई समर्थन गरेमा देउवालाई दोस्रो कार्यकाल सभापति बन्न सकस हुनेछ ।

संस्थापनइतर समूहबाट एकैजनामात्र उम्मेदवार थिए भने पहिलो चरणमै जित्न सक्ने देखिएको छ । शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीचमा जति मतान्तर छ, त्यति मत प्रकाशमानले नपाए पनि समूह नफुटेको भए यो मतमा अरु थपिने थियो ।

उता निधिले एक सय मत कटाउन नसक्ने देउवा पक्षको आँकलन भने फेल भएको छ ।

हुन त विमलेन्द्र निधिले देउवा समूहमा बगावत नगरेका भए संस्थापन पक्षले पहिलो चरणमै जित्ने निधिले पाएको मतले देखाउँछ । तर यसपटक निधिले धेरै अघि नै आफूलाई सभापतिको उम्मेदवारका रुपमा अघि सारेर देउवा समूहबाट अलग्गिएका थिए ।

पहिलो चरणमै जित्न संस्थापन पक्षले सत्ता र शक्तिको सम्पूर्ण प्रयोग गरेको थियो । तर तितरवितर भएको संस्थापनइतर समूहबाट अन्तिममा उम्मेदवार बनेका डा. शेखर कोइरालाले पाएको मत देउवाले सोचेभन्दा बढी भएको एक नेताले बताए ।

प्रकाशमान नउठेको भए शेखर पहिलो चरणमै जित्नसक्ने रहेछन् भन्ने टिप्पणी समेत भइरहेको छ । किनकी संस्थापनइतर समूह फुटेपछि मतदातामा मनोवैज्ञानिक असर परिसकेको थियो । यदि संस्थापनइतर समूहबाट शुरुमै रामचन्द्र वा शेखरमध्ये एकजना उम्मेदवार बनाएर सबै नेता एक ढिक्का भएका थिए भने देउवा पहिलो चरणमै हार्ने रहेछन् ।

दोस्रो चरणमा प्रकाशमानको साथ खोज्न देउवाले बालकृष्ण खाँणलाई चाक्सीबारी पठाइसकेका छन् । तर प्रकाशमानका अधिकांश मतदाता देउवाविरोधी मनोविज्ञानका भएकाले उनले व्यक्तिगत रुपमा देउवालाई समर्थन गरे पनि सबै मत नजान सक्छ ।

अर्कोतिर निधिले दोस्रो चरणमा देउवाविरुद्ध आफूहरु एकजुट हुने भनिसकेका छन् । यसले गर्दा दोस्रो चरण देउवाका लागि झनै चुनौतिपूर्ण बनेको छ । नेपाल प्रेसले हिजै पहिलो चरण देउवा र दोस्रो चरण शेखरका लागि सहज हुने आँकलन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर