बेलायतमा एकैदिन ७८ हजार जनामा कोरोना संक्रमण : महामारीयताकै सर्वाधिक संक्रमण पुष्टि
लन्डन । महामारी सुरु भएयता बेलायतमा अहिलेसम्मकै सर्वाधिक कोभिड संक्रमण पुष्टि भएको छ । बुधवार बेलायतमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
यसअघि गएको जनवरीमा एकैदिन सर्वाधिक ६८ हजार जना संक्रमित पुष्टि भएका थिए । इङ्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले संक्रमण संख्यामा अझै वृद्धि हुने बताएका छन् । आयोजित प्रेसमिटमा उनले क्रिसमसको बेला जमघट गर्नुपूर्व प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।
सोही पत्रकार सम्मेलनमा बोल्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमित संख्या बढेसँगै बुस्टर डोज लिनु महत्वपूर्ण रहेको बताए । लन्डनका केही ठाउँमा संक्रमित संख्या दोब्बर भएको पाइएको उनले बताए । उनका अनुसार देशव्यापीरुपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एकतिहाइले बढेको देखिन्छ।
लन्डनमा अहिले कोरोनाभाइरको नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । प्राध्यापक विटीले यतिखेर बेलायतले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए। उनका अनुसार उक्त प्रकोप अहिले निकै छिटो फैलिरहेको ओमिक्रोन र पहिलादेखि फैलिरहेको डेल्टा भेरिएन्टको कारणले भएको हो ।
तर, भाइरस संक्रमणको कारण लन्डनमा अहिले एकजनाको मात्र मृत्यु पुुष्टि भएको छ । तर, विगत २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएका मानिसमध्ये १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ।
युरोपेली सङ्घ ईयूको स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ। उसको चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढाउने समेत बताइएको छ।
युरोपियन सेन्टर फर डिजीज प्रीभेन्शन एन्ड कन्ट्रोलले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिएको छ। युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायन भन्छिन्, ‘नयाँ सङ्क्रमण दोबर बन्ने समय हेर्नुभयो भने ओमिक्रोनका हकमा दुई वा तीन दिन देखिन्छ। यो निकै धेरै हो।’
युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन आग्रह गरेका छन्।