कृषि विश्वविद्यालयका लागि प्रदेश सरकारले ३१ करोड अनुदान दिने
जनकपुरधाम । प्रदेश २ सरकारले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालय स्थापनाका लागि तत्काल ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्न ३१ करोड अनुदान दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार अनुदान रकमले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण गरिनेछ ।
प्रदेश सरकारले अध्यादेश मार्फत सप्तरीमा कृषि विश्वविद्यालय र वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्न लागेको छ ।
कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरी सप्तरीको राजविराजमा कार्यालय समेत सञ्चालनमा ल्याइसकेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पतालरुलाई प्रादेशिक अस्पतालमा स्तरोन्नती गर्ने र मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत छोरी बिमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।