आरोहण नभएका ८६ मध्ये २१ हिमाल ताप्लेजुङमा – Nepal Press

आरोहण नभएका ८६ मध्ये २१ हिमाल ताप्लेजुङमा

काठमाडौं । सरकारले पहिचान गरी नामाङकरण सहित आरोहण खुल्ला गरेका ४१४ वटा हिमाल मध्ये ८६ वटा हिमाल अझै आरोहण हुन सकेको छैन । पर्यटन विभागको तथ्याङकनुसार यी मध्ये सबैभन्दा धेरै २१ वटा हिमाल ताप्लेजुङ जिल्लाभित्र मात्र रहेका छन् ।

यी हिमालहरुलाई भर्जिन हिमालको रुपमा मानिएको छ । पाँच हजार चार सय देखि सात हजार छ सय मिटरसम्मका हिमाल मध्ये पुर्वधार अभावका कारण ताप्लेजुङ क्षेत्रका धेरैसंख्याका हिमाल आरोहण हुन नसकेको विभागका प्रवक्ता मोहन बहादुर जिसीले बताए। आधारशिविरसम्म पुग्ने बाटो अभाव, पानी र क्याम्पिङ स्थल लगायतका पुर्वधार अभावले गर्दा आरोहीहरुले कम चासो दिने गरेको उनले बताए ।

आरोहण हुन नसकेका हिमालहरुलाई थप प्रवद्र्धनका लागि विभागले कार्ययोजनानै बनाएर अघि बड्ने तयारी शुरु गरेको जनाएको छ । ताप्लेजुङसँगै आरोहण नभएका हिमालहरु दोलखा, सोलुखुम्बु , दार्चुला, बझाङ, मुगु, मुस्ताङ, धौलागिरी, कर्णाली लगायतका क्षेत्रमा रहेका छन् ।

प्रत्येक वर्ष एउटै हिमाल बढी आरोहण हुने तर अन्य क्षेत्रका हिमालहरुमा कम आकर्षण हुने गरेको विभागको तथ्याङक छ । धेरै आरोहण हुने आठ हजार मिटर माथिका हिमाल मध्ये सगरमाथा, मनास्लु हुन् भने ६ हजार मिटर माथिका आमादव्लम हिमाल प्रत्येक वर्ष आरोहीहरुको भीड लाग्ने गरेको छ ।

नेपाललाई विश्वले हिमालैहिमालको देश भनेर चिन्ने गर्छ र सरकारले ४१४ वटा हिमालको पहिचान गरी आरोहण खुल्ला गरेपनि करिव तीन हजार भन्दा बढी हिमालहरु रहेको प्रारम्भिक अनुमान छ । पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न सरकारले आरोहण हुन नसकेका हिमालहरुलाई थप आकर्षणका कार्यक्रमबाट अघि बड्नु पर्ने पर्यटन व्यवसायी तथा आरोही गाइड लाक्पा शेर्पाको सुझाव छ ।

हिमाल आरोहणको रोयल्टीबाट मात्र बार्षिक रुपमा एक अर्व रुपैयाँसम्म राजश्व संकलन हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर