विदेशबाट फर्किनेहरु भन्छन् – अव यतै इलम गर्ने
कैलाली । कैलाली गोदावरी नगरपालिका–९ धनचौरीका हरिनारायण चौधरीले रोजगारीको सिलसिलामा एक दशक भारतका मुम्बईमा बिताए । यति समय त्यहाँको मार्बल पसलमा काम गर्दा पनि परिवारमा आर्थिक सङ्कट हल भएन बरु ऋणले च्याप्न थाल्यो । त्यसैमाथि कोरोनाको कहरले रोजगारी गुम्ने अवस्था आएपछि उनी घर फर्किन बाध्य भए ।
मुक्त कमैया शिविरका चौधरीले नेपालमा आइसकेपछि तत्काल काम पाएनन् । त्यसपछि दैनिक मजदुरी गर्न थाले । दिनभरि कडा श्रम गरेर पाँच सय रुपैयाँ लिएर साँझ उनी घर पुग्थे । भारतमा २० हजार भारु (३२ हजार नेपाली) रुपैयाँ पाइरहेका उनलाई मासिक १५ हजारले केही नहुने भन्ने लाग्यो त्यसपछि उनी आफ्नै केही गर्नुपर्छ भन्नेमा पुगे ।
‘भारतमा श्रम गरेर मैले २० हजार जति भारतीय रुपैयाँ कमाइरहेको थिए । यहाँ पाँच सयमा दैनिक बाध्य भएर मजदुरी गर्न पर्ने । त्यो काम पनि कहिले पाइन्थ्यो कहिले पाउनै मुस्किल हुन्थ्यो’ उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएको र यतै केही गर्ने योजना बनाएको कुरा सुनाएपछि विना धितोमा तीन लाख ५० हजार रुपैयाँ पाए ।’
पावर टिलर (सानो ट्याक्टर), रिपर (धान तथा गहुँ काट्ने मेसिन) र ट्रालि खरिद गरे । अहिले उनले कृषि मात्रै गर्दैनन् , धुवाँनीको पनि काम गर्छन् । आफै काम खोज्दै भौतारिरहेका उनले अहिले अर्का एक जनालाई पनि रोजगारी दिएका छन् ।
‘पहिला काम नपाएर निकै समस्या थियो अहिले अरूलाई पनि मैले काम दिइरहेको छु’ उनले भने ‘अब विदेश जाने सोच राखिन्न, यतै कृषि गर्ने उनले अरूलाई पनि आफ्नै ठाउँमा केही काम गर्नुपर्छ भन्दै आइरहेका छन् ।’
वैदेशिक रोजगारमा हुने दुख कष्टहरू स्थानीय युवाहरूलाई सुनाउँदै उनले नेपालमै केही गर्नुपर्छ भन्दै जनचेतना समेत फैलाउँदै आइरहेको छ ।
‘भारतका चौकीदारी काम गर्नुपर्छ । मालिकहरूले श्रमसोषण गर्छन्,’ उनले भने ‘त्यति दुख यही गरे सुन फलाउन सकिन्छ । अहिले युवाहरुलाइै मैले त्यही भन्दै हिँड्ने गरेको छु ।’
हरिनायरण चौधरी जस्तै गौरीगङ्गा ११ अैठाका खुसीराम चौधरी पनि वैदेशिक रोजगारीबाट केही समय अघि मात्रै घर फर्किएका हुन् । उनले पछिल्लो चार वर्ष मलेसियामा बिताए । तारे होटलमा काम गर्ने उनले त्यहाँ निकै समस्या झेले । एक वर्ष पहिले घर आएर विना धितोमा दुई लाख ५० पाएपछि अहिले पावर टिलर धन तथा गहुँ काट्ने मेसिन किनेर आफ्नो खेती र अरूको खेती पनि गर्दै आइरहेका छन् ।
‘आफ्नो खेतीपाति गरेर अरूको पनि गर्दा कमाइ भइरहेको छ’ उनले भने, ‘यत्तिको कमाइ यति भए त किन विदेश जानु त भने अब नजाने यतै गर्न ।’
विदेशमा भोगेको समस्याका विषयमा चर्चा गर्दा उनीहरू दुबैलाई भन्दा बढी गौरीगङ्गा ११ मा बिरेन्द्र चौधरीलाई भयो । रोजगारीको लागि अरब पुगेका वीरेन्द्रले सुरुको केही समय त राम्रै कमाए तर, त्यसपछि आफ्नो खर्च धान्न मात्रै पुग्ने हुन थाल्यो । सुरुमा केही पैसा भए पनि पछि समस्या भयो । सम्झौता अनुसारको तलव नपाएपछि म नेपाल फर्किएको हुँ ।’ वैदेशिक रोजगारमा गएर आफू त्यहाँ जाँदा सम्मको ऋण मात्रै तिर्न सके, बचत भएन उनले दुखेसो पोखे ।
नेपाल फर्किएपछि उनले माछा पालन सुरु गरे । १७ दिनमा एक लाखको कारोबार भएपछि उनलाई विगतमा वैदेशिक रोजगारीका नाममा समय बिताएकोमा पश्चताप भयो । ‘१७ दिनमा एक लाखको कारोबार भएपछि यही पनि केही गर्न सकिने रहेछ भन्ने लाग्यो’ उनले भने ‘मैले त्यत्रो वर्ष उता बिताउनु भन्दा पहिलेबाटै यही केही गर्नु पर्ने रहेछ भन्ने ठाने ।’ बिना धितोमा सहुलियत ब्याजदरले दुई लाख ऋण पाएपछि कृषि उपकरणहरू खरिद गरे । ‘ताल पनि छ । मेसिन पनि छ’ उनले भने ‘आफ्नो व्यवसाय पनि गर्छु खेतीपातीमा अरूको काम गरेर पनि आम्दानी गरिरहेको छु ।’
सुदूरपश्चिम प्रदेशबाट प्रत्येक वर्ष हजारौँ युवाहरू वैदेशिक रोजगारीका लागि भन्दै पलायन भइरहेका छन् । उनीहरू मध्ये अधिकांश युवाहरू भारत तथा खाडीमा सस्तोमा श्रम बच्न बाध्य छन् । युवाहरू जस्तै वयस्कहरू पनि दशकौँ देखी मुगलान बस्न बाध्य छन् । यहाँका कयौँ पुस्ताको भारतमा पलायन भइरहेको छ । ती मध्ये पछिल्लो पटक भने वैदेशिक रोजगारी भन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोच पलाउन थालेको छ ।
गौरीगङ्गा नपा ११ डम्बारीपुरका रुपलाल चौधरी ४७ वर्षका भए । यो उमेर सम्म पनि वैदेशिक रोजगारमा थिए । ५ वर्ष साउदी बसेर उनी २ वर्ष अघि नेपाल फर्किएका थिए । उनी पनि अहिले कृषिमा रमाइरहेका छन् ।
‘छोराछोरी पनि कमाउने भइसकेका छन् । यो उमेरमा पनि किन विदेश जानु भनेर यतै कृषि गरिरहेको छु’ उनले भने ‘अहिले अरूलाई पनि यतै केही गर्नुपर्छ भनेर भन्दै आइरहेको छु ।’
अहिले पुरुषहरू कृषिमा रमाउन थालेपछि गृहणीहरुले पनि त्यसमा साथ दिइरहेका छन् । परिवारका सबै सदस्यसँगै भएर उत्पादनमा जोड दिदाँ फाइदा हुने गरेको कैलारी पाँच बिसनपुरकि मिना देवी चौधरीले बताइन् ।
‘श्रीमानले विदेशमा गरेको कमाइ त्यतिकै सकिन्छ सधैँ समस्या नै हुन्छ ’उनले भनिन्, ‘अहिले हामी सबै मिलेर काम गरिरहेका छौँ । यही राम्रो छ ।’
वैदेशिक रोजगारबाट आएका कैलालीका ६३ र कञ्चनपुरका १२ जनाले अहिले कैलालीमा सहुलियत व्याजमा बिना धितो लोन लिएर कृषि उत्पादनमा लागेका छन् ।उनीहरूलाई सिसा परियोजनाले सहुलियत व्याजमा बिना धितो रिन पाउने व्यवस्थापन गरिदिएको छ । काम गर्ने योजना र चाहना भए पनि लगानीको अभाव भएका युवाहरूलाई कृषि रिन उपलब्ध गराउन पहल गरिदिएको सिसा परियोजनाका सूर्य खड्का बताउँछन् ।
‘विदेशबाट आएका युवाहरूलाई हामीले कृषिमा जोड्ने प्रयास गरिरहेका छौँ । अहिले ६३ जना युवाहरू यसमा जोडिनु भएको छ’ उनले भने ‘यही केही गर्नुपर्छ भन्ने सोच भएका धेरै युवाहरू हुनुहुन्छ । हामी क्रमशः उहाँहरूलाई पनि समेट्ने योजनामा छौँ ।’
उनले अधिकांश युवाहरूले कृषि उत्पादनसँगै व्यवसाय समेत सुरु गरेको सिसा परियोजनाका क्षेत्रीय संयोजक लोकेन्द्र खड्काले बताए ।
‘हामी कृषिमा युवाहरूलाई आत्मनिर्भर बनाउन चाहन्छौँ’ उनले भने ‘त्यसकोका लागि कृषि उपकरण खरिदा सहुलियत ऋणसँगै उपकरण सम्बन्धी तालिमहरू पनि दिने गरेका छौँ ।’