सर्वदलीय बैठक – कांग्रेस बाहेकका दल अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने पक्षमा
काठमाडौं । संसद अवरोध र अमेरिकी साहायता परियोजना (एमसीसी) लगायतका विषयमा छलफल गर्न बसेको नेकपा (एमाले) बाहेकको सर्वदलीय बैठक सकिएको छ । बैठकमा सत्तारुढ नेपाली कांग्रेस बाहेकका दल एमसिसी परिमार्जनबिना पारित गर्न नहुने पक्षमा उभिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसापा, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपालगायतले भने विपक्षमा मत राखेका थिए ।
बैठकमा सहभागी नेमकिपा नेता प्रेम सुवालका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसोधनबिना पारित गर्न नहुने धारणा राखेका थिए । त्यस्तै नारायणकाजी श्रेष्ठले पारित गर्न नहुने धारणा रोखका थिए ।
एकीकृत समाजवादीका तर्फबाट बोलेको नेता बेदुराम भुसालले संसोधनबिना पारित गर्न नहुने बताए । जसपाका तर्फबाट बोलेका बाबुराम भट्टराईले भने अघि बढाउनुपर्ने धारणा राखेका थिए । सत्तारुढ दल नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र रामशरण महत बोलेका थिए । उनीहरु दुवैले एमसिसी अगाडि बढाउनुपने धारणा राखेका थिए।
बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने एमसीसीबारे फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति बनेको बताए। उनले भने, ‘संसद अवरोध र एमसिसीबारे व्यापक छलफल भयो । फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ।’