विवादका कारण प्रदेश २ को नेतृत्व चयन गर्न माओवादी असफल – Nepal Press

विवादका कारण प्रदेश २ को नेतृत्व चयन गर्न माओवादी असफल

जनकपुरधाम । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रको नेतृत्व राष्ट्रिय सम्मेलनपछि मात्रै तय हुने भएको छ । आन्तरिक विवादका कारण नेतृत्व चयन प्रक्रिया सम्मेलनपछि धकेलिएको हो ।

मंसिर २५ मा नै जनकपुरमा प्रदेश अधिवेशनको उद्घाटन सम्पन्न गरेका माओवादीले नेतृत्व चयन गर्न सर्लाहीको लालबन्दीमा हिजो शनिवारका लागि बन्दसत्र राखेको थियो ।

तर प्रतिनिधि चयनमा व्यापक विवाद देखिएपछि आइतबार विहान ११ बजेसम्मका लागि पुनः बन्दसत्र स्थगित गर्नुपरेको थियो ।

आइतबार विहानसम्म पनि विवाद समाधान नभएपछि राष्ट्रिय सम्मेलनपछि मात्र नेतृत्व चयन गर्नेगरी बन्दसत्र सम्पन्न भएको माओवादीका एक नेताले बताए । उनका अनुसार विवाद समाधान गरी पुस २० गतेभित्र प्रतिनिधिको नाम पठाउन जिल्ला इन्चार्ज र संयोजकलाई जिम्मेवारी दिइएको छ ।

गिरिराजमणि पोखरेल र मातृका यादवले नेतृत्व र प्रतिनिधिमा वर्चश्व जमाउन खोज्दा करिब ३० भन्दा बढी पालिकामा विवाद देखिएको छ ।

कतिपय पालिकाबाट प्रतिनिधि चयन भएर आएपनि असन्तुष्ट पक्ष अर्का प्रतिनिधिलाई समावेश गराउन निवेदन दिएकाले समस्या सृजना भएको स्रोतले जनायो ।

अधिवेशनबाट ९ जना पादधकारीसहित २७१ जनाको प्रदेश समिति चयन गर्नुपर्ने हुन्छ । उक्त समितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १ कोषाध्यक्ष र बाँकी सदस्य रहने प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर