कांग्रेसको प्रदेश २ अधिवेशन : निधिको उम्मेदवारलाई शेखरको समर्थन – Nepal Press

कांग्रेसको प्रदेश २ अधिवेशन : निधिको उम्मेदवारलाई शेखरको समर्थन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नम्बर २ को अधिवेशन मंगलबार सुरु हुँदैछ ।

प्रदेश २ का जिल्लाहरुमा ढिलागरी अधिवेशन सुरु भएका कारण जिल्ला र प्रदेश अधिवेशन हुन सकेका छैनन् । केन्द्रीय निर्वाचन समितिले पुस ६ र ७ गतेका लागि प्रदेश २ को अधिवेशन तय गरेको थियो ।

महाधिवेशनको पूर्ण नतिजा प्राप्त नहुँदै सुरु हुन लागेको २ नम्बर प्रदेशको अधिवेशनले कांग्रेसका नेताहरुलाई ध्यानाकर्षित गरेको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनमा प्रदेश २ मा आफ्नो पकड रहेको प्रमाणित गरिसकेका छन् । प्रदेश २ लाई नै आधार क्षेत्र मानिएको सभापति पदका उम्मेदवार विमलेन्द्र निधिले समग्रमै २ सय ४९ मत मात्रै ल्याएका थिए ।

दोस्रो चरणको निर्वाचनमा सभापतिमा देउवालाई नै निधिले समर्थन जनाएका थिए । यद्यपि प्रदेश २ को अधिवेशनमा भने देउवा–निधि सहकार्यको सम्भावना कम देखिन्छ । देउवा पक्षे रौतहटका पूर्व सभापति कृष्ण यादवलाई प्रदेश सभापतिको उम्मेदवारका रुपमा अगाडि सारेको छ ।

जबकी निधिपक्षले प्रदेश २ का भौतिक मन्त्री रामसरोज यादवलाई प्रदेश २ को सभापतिको उम्मेदवार बनाउँदैछ । महाधिवेशनबाट कांग्रेसभित्र आन्तरिक समीकरणहरु फेरबदल भएको अवस्थामा प्रदेश २ मा जसरी पनि जित निकाल्ने प्रयत्न सबैको हुनेछ ।

यहीकारण प्रदेश २ मा सभापति देउवा पक्षलाई रोक्न डा. शेखर कोइराला नेतृत्वको पक्षले तयारी गरेको छ । शेखर १४ औं महाधिवेशनमा ४० प्रतिशत मतसहित सभापतिमा निकटतम प्रतिस्पर्धी रहेका थिए ।

शेखर पक्षले देउवा पक्ष रोक्न निधिसँग सहकार्यको तयारी गरेको छ । यसबारे महामन्त्री गगन थापा र नेता चन्द्र भण्डारीले निधिसँग भेटेर कुरा गरिसकेका छन् ।

दोस्रो चरणमा नेता भण्डारी र सहमहामन्त्री जीवन परियारले पनि निधिसँग वार्ता गरिसकेका छन् । निधिले प्रदेश २ मा रामसरोज यादवलाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् । निधिले यही प्रस्ताव सभापति देउवासमक्ष पनि राखेका थिए । देउवाले जवाफ नदिइसकेका कारण सर्वसम्मत हुने वा निर्वाचन हुने निश्चित भइसकेको छैन । शेखर पक्षले भने निर्वाचन हुने अवस्थामा निधिले अघि सारेका उम्मेदवारलाई समर्थन गरेर ‘पावर सेयरिङ’ गर्न सकिने प्रस्ताव गरेको छ ।

‘प्रदेश २ मा विमलेन्द्र निधिसँग हाम्रो सहकार्य हुन्छ । रामसरोज यादवलाई सभापति मानेर संयुक्त टिम बनाएर जाने सहमति भइसकेको छ’, शेखर पक्षका एक नेताले नेपाल प्रेससँग भने । ती नेताका अनुसार प्रदेश २ को अधिवेशनमा सहमति नजुटे शेखर पक्षले छुट्टै उम्मेदवारी दिने सम्भावना पनि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर