बाढीले इराकमा दुई नेपालीसहित १२ जनाको मृत्यु
बगदाद । अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ ।
बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । राज्य कुर्दिस्तानमा बाढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार त्यहाँको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई दुबैजनाको ज्यान गएको हो ।
शेर्पा एक हप्ता र राई एक महिना अगाडि इराक गएका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।
बाढीका कारण दुई करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको समाचारमा जनाइएको छ । त्यसैगरी खेतियोग्य जमिन, सडक, ढललगायतमा पनि क्षति पुगेको र सेवा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन् ।गत बिहीबार र शुक्रबार देशको इर्बिलसहितको कुर्दिश क्षेत्रमा भारी बर्षा भएको थियो । घटनास्थल राजधानी बग्दाददेखि ३७५ किलोमिटर टाढा पर्दछ ।