रामचन्द्रको गुप्तवास, कार्यकर्ताको उठीबास ! – Nepal Press
टिप्पणी

रामचन्द्रको गुप्तवास, कार्यकर्ताको उठीबास !

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको विश्वासपात्र मानिने पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी यसपटक केन्द्रीय सदस्यमा एक मतले पराजित भए । कर्णाली प्रदेशतर्फको केन्द्रीय सदस्यमा उनले २ हजार १ सय ९९ मत ल्याउँदा विजयी उम्मेदवार कर्णबहादुर बुढाले २ हजार २ सय मत ल्याए ।

१४ औं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग रहने घोषणा गरेका वरिष्ठ नेता पौडेल मतदान गर्न गएको भए सम्भवतः थानीको हार हुने थिएन । थानीमात्रै होइन, पौडेलसँग निकट रहेर राजनीति गरेका धेरै नेता कार्यकर्ताको अहिले विचल्ली भएको छ ।

कांग्रेसवृत्तमा ‘रामचन्द्रको गुप्तवासले कार्यकर्ताको उठीबास’ भएको चर्चा छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा रहँदा सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रतिस्पर्धा गरेका २ तिहाई पदाधिकारी र सदस्य निर्वाचित हुने देखिएको छ ।

सभापतिसहित देउवा पक्षले १ उपसभापति र आठमध्ये ६ सहमहामन्त्री जितेको छ । खुला केन्द्रीय सदस्यमा ३५ मध्ये देउवा प्यानलका २५ जना विजयी भए । खुला महिला केन्द्रीय सदस्यमा ९ मध्ये ८ जना देउवा प्यानलबाट निर्वाचित भएका छन् । खुला मधेसीतर्फ ५ मध्ये ४ देउवा प्यानलका विजयी हुँदा अन्य क्लस्टरमा पनि उस्तै अवस्था छ ।

रामचन्द्रको कठोर निर्णय

महाधिवेशनको प्रतिस्पर्धामा देउवा र डा. शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिए पनि कोइराला पक्षका सबैजसो उम्मेदवार राजनीतिकरुपमा पौडेलसँगै जोडिएका थिए । अन्तिम समयसम्म संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास जारी नै थियो ।

लामो समयसम्म पौडेलसँग निकट रहेका नेता कार्यकर्तालाई पौडेल नै सभापतिको उम्मेदवार भइदिए हुन्थ्यो भन्ने लागेकै थियो । यद्यपि नेताहरुबीच सहमति जुटेन । पौडेलले निर्वाचन प्रक्रियाबाट अलग हुने निर्णय गरे तर आफ्नो समूहका नेताहरुको व्यवस्थापनबारे चासो दिएनन् ।

त्यसो त पौडेल पक्षका नेताहरुले शेखर प्यानलमा पर्याप्त स्थान पाएकै हुन् । यद्यपि पौडेल स्वयं मौन बसिदिँदा त्यसको राजनीतिक लाभ देउवा पक्षले लियो । पौडेललाई मियो मानेर हिँडेका नेता कार्यकर्ता निराश बनेका छन् ।

आफू नबन्दै गर्दा अरुलाई सघाउन सकेको भएपनि रामचन्द्रलाई त्यागको सुखानुभूति प्राप्त हुन सक्थ्यो । कांग्रेस राजनीतिमा पौडेलसँगै दशकौं बिताएकाहरु धमाधम पराजित भएका छन् । कार्यकर्ता संरक्षणको सवालमा पौडेलले चालेको कदम उचित ठहरिएन ।

संस्थापनइतरबाट पौडेल साझा उम्मेदवार बन्न सकेनन् । यसको दोष उनले डा. शेखर कोइराला र प्रकाशमान सिंहलाई दिने गरेका छन् । उम्मेदवार भएरै छाड्ने कोइराला र सिंहको अडान पौडेलका लागि बाधक भएकै हो ।

यद्यपि राजनीतिमा आफू नबन्दा पनि आफ्ना निकटस्थहरुको व्यवस्थापन गर्नु नेताको दायित्व हो । पौडेलबाट अभिभावकत्वको आशा गरेका धेरै नेताहरु पौडेलको निर्णयबाट सन्तुष्ट छैनन् । २५ मंसिरमा वक्तव्य जारी गरेर पौडेलले नेतृत्वको प्रतिस्पर्धाबाट आफू अलग हुने घोषणा गरेका थिए । यो घोषणापछि उनी मतदानमा समेत सहभागी भएनन् ।

रामचन्द्रको यो निर्णय राजनीतिकरुपमा उनका लागि जति कठोर थियो त्यति नै उनका निकटस्थहरुको लागि । लडाइँको मैदानमा सेनापति हराएका सिपाहीझैं भएका पौडेलका निकटस्थ नेताहरुले मैदान त छाडेनन् तर विपक्षीको प्रहार थेग्न पनि सकेनन् ।

६ दशक लामो राजनीतिक यात्रामा पौडेलले धेरै आरोह–अवरोह पार गरे । लामो जेलजीवन र संघर्षबाट स्थापित पौडेल लामो समय शक्तिमा रहेर पनि बेदाग रहे । यद्यपि १४ औं महाधिवेशनमा उनले लिएको निर्णय ‘आफ्नाका लागि नभएर पराइका लागि’ प्रिय ठहर भयो ।

रामचन्द्रको त्यो धम्की

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णयले उनको राजनीतिक बिरासत बोक्नेहरुले व्यहोर्नुपर्ने क्षति व्यहोरिसकेका थिए । पहिलो चरणको निर्वाचन सकिएको थियो । सभापतिमा स्पष्ट नतिजा नआएपछि निर्वाचन दोस्रो चरणमा धकेलियो ।

महाधिवेशनको मुख्य छिनोफानो नहुँदै पौडेलले लैनचौर ब्यांक्वेटमा महाधिवेशन प्रतिनिधिहरुलाई बोलाए । दोस्रो चरणको निर्वाचन अगाडि पौडेलले आयोजना गरेको चियापानबाट सुखद सन्देश प्रवाह हुने अपेक्षा पौडेलका कार्यकर्ताहरुले लिएका थिए । तर परिस्थति त्यस्तो भएन ।

पौडेलको चियापानमा पुगेका सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री देउवाले उनलाई ‘महान नेता’ भनिदिए । त्यहाँ उपस्थित कार्यकर्ताले शेखरको पक्षमा उभिन ‘हुटिङ’ गरे तर पौडेलले आफूलाई ‘बाध्य नपार्न’ चेतावनी दिए ।

पौडेलले आफू कसैको पक्षमा नउभिने भन्दै विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे । पौडेलको यो आग्रह नै देउवाका लागि ‘बल पास’ थियो । लैनचौर ब्यांक्वेटमा पौडेलको प्रस्तुतिले उनका निकटस्थहरु निराश भए । देउवाका समर्थकहरु उत्साहित देखिए । कुनैबेला नेपाली कांग्रेस (प्रजातान्त्रिक) को घोषणामा जानबाट पौडेल रोकिएका थिए ।

पार्टी विभाजनका लागि बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका देउवासहितलाई कुराएर उनी बीचबाटै फर्किएका थिए । यसपटक त्यस्तो भएन । लैनचौर भेलाबाट रामचन्द्रले ‘शेखरको पक्षमा उभिन बाध्य पारे विद्रोह हुने’ चेतावनी दिए ।

त्यसको केहीबेरमै चाक्सीबारीबाट प्रकाशमान सिंहले देउवालाई समर्थन दिए । लगत्तै बानेश्वरबाट विमलेन्द्र निधिले देउवाको समर्थनमा विज्ञप्ती जारी गरे । यो सबै दृश्य देखेका पौडेलका कार्यकर्ताहरुले बुझे, २० वर्षअघि कांग्रेस प्रजातान्त्रिक गठन हुँदा रोकिएका पौडेलको भूमिका यसपटक रोकिएन ।

त्याग कि आत्मसमर्पण ?

नेतृत्वको दौडबाट अलग रहने रामचन्द्रको निर्णय पहिलो दिनसम्म त्यागको रुपमा चर्चामा रह्यो । जब लैनचौर भेलापछि दोस्रो चरणमा देउवाको जित निश्चित देखियो तब धेरैले आरोप लगाए– त्यो त्याग होइन, आत्मसमर्पण थियो । भनिन्छ– त्यागले सुखानुभूति दिन्छ । त्यो सुखानुभूति न रामचन्द्रसँग छ न उनका कार्यकर्तासँग । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविताको हरफ छ,

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाइ अरुलाई दिनु जहाँ छ

रामचन्द्र आफू कांग्रेसको नेतृत्वमा स्थापित हुन सकेन । उनकै दावीअनुसार उनलाई रोक्न अनेक तिकडम र प्रपञ्च भएकै होला । यद्यपि राजनीतिको निर्मम सौन्दर्य नै यहीं हो । नेतृत्व निगाहाले मिल्दो रहनेछ । त्यसैले न रामचन्द्रले निगाहा पाए, न कसैलाई दिए ।

आफू नबन्दै गर्दा अरुलाई सघाउन सकेको भएपनि रामचन्द्रलाई त्यागको सुखानुभूति प्राप्त हुन सक्थ्यो । कांग्रेस राजनीतिमा पौडेलसँगै दशकौं बिताएकाहरु धमाधम पराजित भएका छन् । कार्यकर्ता संरक्षणको सवालमा पौडेलले चालेको कदम उचित ठहरिएन ।

केन्द्रीय सदस्यमा पराजित एक उम्मेदवारले नेपाल प्रेससँग भने– उहाँलाई बनाउनुपर्छ भनेर हामीले इमान्दार प्रयास गरेकै थियौं । उहाँ नबन्दै गर्दा हामीलाई बनाउन प्रयत्न गर्नुपर्थ्यो । उहाँकै मौनताका कारण आज तलसम्मै हामी हारेका छौ । उहाँले राष्ट्रपति पाउनुहोला तर हामीजस्तो इमानदार कार्यकर्ता अब गुमाउनुभयो ।

रामचन्द्र आफू कांग्रेसको नेतृत्वमा स्थापित हुन सकेन । उनकै दावीअनुसार उनलाई रोक्न अनेक तिकडम र प्रपञ्च भएकै होला । यद्यपि राजनीतिको निर्मम सौन्दर्य नै यहीं हो । नेतृत्व निगाहाले मिल्दो रहनेछन् । त्यसैले न रामचन्द्रले निगाहा पाए, न कसैलाई दिए ।

राजनीतिकरुपमा पौडेलसँग अत्यन्तै निकट भनिएका कमला पन्त, विकास लामा, देवराज चालिसे, रामकृष्ण यादव, तेजुलाल चौधरी, हृदयराम थानी, किरण यादव, मनोजमणि आचार्य, टेकराज पौडेल, रेशमबहादुर बानियाँ, महेन्द्र शर्मा, लेखनाथ पोख्रेल, अनिता देवकोटा, रमेश धमलालगायतका नेताहरुको पराजयको ‘दोष’को अधिक हिस्सा पौडेलतर्फ नै जोडिएको छ ।

पार्टी राजनीतिमा ‘गुप्तवास’ बसेका रामचन्द्रले राष्ट्रिय राजनीतिमा योगदान गर्ने धोको अझै बाँकी राखेका छन् । कांग्रेसभित्र बदलिएको समीकरण हेर्दा उनको धोको सजिलै पूरा नहुन सक्छ ।

उनको गुप्तवासबाट उठीबासमा परेकाहरुको साथ अब जुटाउन उनलाई सहज हुनेछैन । नेपाली राजनीतिमा तटस्थताको सबैभन्दा बढी शिकार कोही भएको छ भने उनै रामचन्द्र भएका छन् । संसदमा एमालेको तटस्थ नीतिका कारण उनी प्रधानमन्त्री बन्नबाट पटकपटक रोकिएका थिए । त्यतिबेला ‘संसदीय व्यवस्थामा तटस्थताको अभ्यासले लोकतन्त्र निल्ने’ पौडेलको दाबी हुन्थ्यो । कांग्रेस महाधिवेशनमा पौडेलको तटस्थताले उनको राजनीतिक उचाइ, छवि र सहयात्रीको साथ नै निल्ने त होइन ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *