धनगढीको एयरक्राफ्ट म्युजियम नेपालगञ्ज सारियो , माघको पहिलो साता उद्घाटन तयारी
रुपन्देही । ९ वर्षअघि सूरपशिचमको धनगढीमा स्थापना भएको वायुयान संग्राहलय (एयरक्राफ्ट म्युजियम) लुम्बिनी प्रदेशको बाँकेस्थित नेपालगन्जमा संचालनको अन्तिम तयारीमा छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रूपमा आकर्षण बनिरहेको उक्त वायुयान संग्रहालय नेपालगन्ज सारिएको हो ।
‘नेपालगन्ज उपमहानगरपालिकाको वडा नं १२ को बेलासपुरमा वायुयान संग्रहालय राख्ने तयारीमा छ, माघको पहिलो साता उद्घाटन गर्ने गरी सञ्चालन तयारीमा रहेको चिल्ड्रेनपार्कमा म्युजियम राखिएको हो’ नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बताइन् ।
उनका अनुसार नगरपालिको स्वामित्वमा रहेको चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउन म्युजियम राखिएको हो र यसले यो क्षेत्रका आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न सहयोग पुग्नेछ ।
‘उपमहानगरको बोर्डले नै निर्णय गरेर जिम्मेवारी दिएको हो, आन्तरिक तयारी भइरहेको सुनेका छौं, हामीले न्यूनतम प्रवेश शुल्क पनि तोकिसकेका छौं, हामीलाई वार्षिकरु रुपमा संचालकले रकम बुझाउनेगरी अगाडि बढिएको, सबै लगानी उहाँको भएकाले धेरै नतोकेका हौं,’ उनले बताइन् ।
वायुयान संग्रहालय क्याप्टेन बेद उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ९ वर्षअघि धनगढीमा स्थापना गरेका थिए ।
धनगढीमा म्युजियम राखिएको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियमलाई नेपालगन्ज ल्याइएको क्याप्टेन उप्रेतीलाई उद्धृत गर्दै वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।
‘धनगढीमा उहाँहरु सन्तुष्ट नभएको सूचना हामीले आफन्तमार्फत थाह पाएपछि यहाँ ल्याएका हौं, मासिक न्यूतत्तम भाडामा १० वर्षका लागि सम्झौता गरिएको छ । यसले यहाँको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नेछ’ सुवेदीले भने ।
‘पश्चिममा उहाँको सम्झौता सकिन थालेको सूचना मेयरसापलाई सुनाए, मेयरले पनि सकारात्मक भएपछि तत्काल प्रकृया अगाडि बढायौं, मासिक १० हजार पालिकालाई दिने, स्थानीयले रोजगारी पाउने र नेपालगन्जमा पर्यटकलाई देखाउने ठाउँ थपिएपछि हामीलाई उत्साहित बनायो’, सुवेदीले भने ।
वायुयान संग्रहालयका लागि विमानका सामानहरु ल्याइएपछि हेर्नेहरुको संख्या बढिरहेको छ । नेपालगञ्जका नगर प्रमुख डा. धवल शम्शेर राणाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब ७ कठ्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।
डेढ करोड लगानीमा ९ वर्षअघि स्थापना गरिएको वायुयान संग्रहालयका लागि काम भइरहेको छ । त्यसका लागि त्यतिबेला नै ग्राउन्डेड अवस्थामा रहेको ११० सिटको कस्मिक एयरको फोकर-१०० विमानलाई म्युजियम बनाइएको थियो । उक्त विमानका सामान नेपालगन्ज ल्याइसकिएको छ ।
वायुयान संग्रहालयमा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिनेछन् ।