मोहनविक्रमलाई सूर्य थापाको सुझाव- सन्यास लिनुस्, हामी सबैको सम्मानित पात्र बन्नुस् – Nepal Press

मोहनविक्रमलाई सूर्य थापाको सुझाव- सन्यास लिनुस्, हामी सबैको सम्मानित पात्र बन्नुस्

काठमाडौं । नेपका एमालेका पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापाले नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई जीवनको उत्तरार्धमा कांग्रेस परस्त र गुटफुटको राजनीति गर्नुभन्दा सबैको साझा सम्मानको पात्र बन्न सुझाएका छन् ।

गृहजिल्ला प्युठानमा पुसको चिसोमा ८७ वर्षको उमेरका बृद्ध नेता मसालको पनि एउटा गुटको भेला गर्दै हिँडेकोमा आफूलाई दया लागेको भन्दै थापाले पछिल्लो पिँढीका कम्युनिस्ट कार्यकर्तालाई मोहन विक्रमको हविगत देख्दा दुःख लागेको बताएका छन् ।

एमाले नेता थापा भन्छन्, ‘पुसमा चिसामो आफ्नो राम्रो ख्याल गर्नुस् र समुहस्वार्थको राजनीतिबाट अब सन्यासको घोषणा गर्नुस् । हामी सबैको साझा सम्मानको पात्र बन्नु । तपाईको नेतृत्वमा क्रान्ति त भएन नै परिवर्तनको कुनै आन्दोलनको पनि नेतृत्व गर्न सक्नुभएन । यो वास्तविकतालाई स्वीकार गर्नुस् ।’

पटक-पटक विभाजन भएको नेकपा मसाल अस्तित्व रक्षाको अन्तिम संकटमा गुज्रिरहेको र अब जोगिने स्थिति नरहेकाले यस्तो राजनीतिबाट सन्यास लिन थापाले मोहनविक्रमलाई आग्रह गरेका हुन् ।

थापा भन्छन्, ‘२०७४ को आम निर्वाचनमा मोहनविक्रम सिंह वामपन्थी मत, मुख्यतः नेकपा एमालेको सहयोगमा आफ्नी श्रीमती दुर्गा पौडेललाई प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित गर्ने गठबन्धनमा हुनुहुन्थ्यो र प्यूठानमा स्वयं चुनाव प्रचारप्रसारमा यसैगरी सक्रियताका साथ लाग्नुभएको थियो। तर त्यो विश्लेषण र गठबन्धनको घोषणाविपरित गण्डकी र लुम्बिनी प्रदेश तथा संघीय सरकार ढाल्न प्रयोग भएर यतिखेर देउवा सरकारको निस्शुल्क सारथि र बैशाखी बन्दै उहाँकै नेतृत्वमा वामपन्थी जनमतलाई विश्वासघात गरिएको छ।जनतामा जानुलाई कथित प्रतिगमन भन्ने भ्रान्त विश्लेषणको शिकार नेकपा मसाल बनेको छ। यही गलत राजनीतिविरूद्द समेत पछिल्लो यो फुट भएको छ। खासमा राजनीति बेठीक हुँदा नै सबै चिज बेठीक हुने हो। पार्टी त यसरी नै फुट्छ, कार्यकर्ता र जनताले पनि छाड्छन् नै । अहिले यही त भएको हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर