लुम्बिनीका दुई पुल अलपत्र पारेर पप्पुका ठेकेदार ८ वर्षदेखि बेपत्ता
रुपन्देही । संघीय, प्रदेश तथा स्थानीय तहका सरकारले विशेष प्राथमिकतामा राखेको क्षेत्र हो बुद्ध जन्मस्थल लुम्बिनी । तर त्यहाँ पुग्ने मुख्य मार्गको रुपमा रहेको भैरहवा लुम्बिनी सडकमा बन्न लागेका दुई ठूला पुल ८ वर्षसम्म पूरा हुन नसकेर अलपत्र परेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी जाने मुख्य बाटोमा अलपत्र यी पुलले सवारी संचालनमा निकै कठिनाई भएको छ । तर स्थानीयले ठेकेदारलाई काम छिटो गर्न दबाव दिएपनि ठेकेदारले टेरेका भने छैनन् ।
हवाईमार्गबाट भैरहवा आएका, भारतीय बाटो सुनौली नाका हुँदै आएका, पूर्वी क्षेत्रबाट लुम्बिनी घुम्न आएका पर्यटक बोकेका सवारी साधन यहि मार्ग भएर जान्छन् । तर पुल नबनेका घन्टौ लाइनमा बसेर पुरानो र साँधुरो पुलबाट जानुपर्ने बाध्यता छ ।
यो सडकखण्डमा रहेको वनगाईस्थित तिनाउ खोलाको पुल र दानव नदीको डण्डा पुलमा आठ वर्ष अगाडि सुरु काम सुरु भएको थियो । ०७३ सालमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनी पप्पु बाम्ती जेभि कन्स्ट्रक्सनले ०७१ असार २५ गते सम्झौता गरे पनि हालसम्म निर्माण सम्पन्न नहुँदा यो बाटो भएर हिंड्ने सबैलाई हैरानी छ ।
लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले यो विषयमा धेरैपटक आवाज उठाएपनि कसैले ध्यान नदिएको गुनासो गरेका छन् ।
हवाई तथा स्थलमार्ग भएर आउने देश तथा विदेशका पर्यटक आउने मुख्य बाटो यही हो, लुम्बिनीको भ्रमणमा आएका बाहिरी देशका पर्यटकहरु यसरी घन्टौं लाइनमा बसेर हैरानी हुँदा कस्तो सन्देश लैजाने हुन् – लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने ।
नयाँ पुल नबनेका कारण पुरानो साँघुरो पुल र जीर्ण भएका कारण त्यो पुलमा आवागमन एकोहोरो गरिएको छ भने सवारी जामको समस्या रहेको यातायात व्यवसायी प्रविन थापा बताउँछन् । त्यसो त यो पुल समयमा पूरा गर्नका लागि यहाँका उद्योगी व्यवसायीले पनि धेरैपटक आवाज उठाएपनि कुनै सुनुवाई नभएको बताउँछन् ।
अकस्मात पुल क्षति भएमा यसले लुम्बिनी करिडोरमा रहेका दर्जनौ उद्योगलाई प्रत्यक्ष असर पार्छ भने लुम्बिनी आउने स्वदेशी, विदेशी पर्यटक आवतजावत बन्द पनि हुनसक्ने उद्योगी जीवन बुढाथोकी बताउँछन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कोषाध्यक्ष गोविन्द ज्ञवालीले लामो समयदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न नहुँदा पर्यटकलाई समेत आवागमनमा समस्या उत्पन्न भएको बताए । उनले पुल निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्नको लागि तीनै तहको सरकारले ध्यान दिनुपर्ने बताए ।
लुम्बिनीका युवा चन्द्रकेश गुप्ता (सि.के.) गुप्ताले पुल निर्माण सम्पन्न नहुँदा विशेष गरी कार्यालय समयमै कार्यालय पुग्न चाहने कर्मचारी, शिक्षक तथा विद्यार्थीहरु पुग्न समस्या रहेको बताए ।
उनले नयाँ पुल निर्माण कार्यसम्पन्न हुन नसक्दा पुरानो पुल अझै जीर्ण बन्दै गएको बताए । यथाशीघ्र पुल निर्माण कार्यसम्पन्न हुनुपर्ने उनको भनाइ छ ।
सिद्धार्थ सिमेन्ट उद्योगका महाप्रबन्धक अरुणकुमार अग्रवालले पुल निर्माणसम्पन्न नहुँदा निकै नै समस्या भएको बताए ।
‘नयाँ पुल निर्माण कार्यसम्पन्न नहुँदा पुरानो पुल जीर्ण बन्दै गएको छ, अझ उद्योगबाट उत्पादित विभिन्न सामान बोकेका सवारीसाधन सडकमा जाममा पर्दा समयमै ती सवारीसाधन गन्तव्यसम्म पुग्न सक्दैनन्’, अग्रवालले भने । पुल निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री सन्तोष पाण्डेले आफुनै पहलमा काम नगर्ने ठेकेदारको सम्झौता रद्द गरेर अर्कोलाई दिएपनि अहिलेको सरकार तथा मन्त्रीले कुनै चासो नदिएका कारण अन्यौलमा परेको बताए ।
काम नगर्ने, वर्षौ अल्झ्याएर राख्ने ठेकेदारलाई रद्द गरेर नयाँलाई दिएको थिएँ तर मलाई लामो समय काम गर्न दिइएन, अहिलेको सरकार र मन्त्रीलाई यस्ता विषय हेर्ने समय नै छैन, म सरकार बाहिर भएपनि निरन्तर यसको विषयमा आवाज उठाएको छु अब पनि ढिलाई भए म आफै स्थानीयलाई लिएर पुग्छु – उनले भने ।
रुपन्देहीको हुलाकी सडकमा पर्ने यी दुई पुल निर्माणको ठेक्का पाएको जेभि कन्स्ट्रक्सन र आयोजनाले भने एक अर्कामाथि दोषारोपण गर्दै पुल वर्षौदेखि अलपत्र परेका हुन् ।
निर्माण कम्पनी पप्पु बामतीले आफूले गर्नसक्ने सम्पूर्ण काम गरिसकेको र पुलको डिजाइनमा नै प्राविधिक त्रुटि रहेकाले निर्माण अगाडि बढाउन नसकेको दावी गरेको छ भने हुलाकी सडक आयोजनाले भने निर्माण व्यवसायीले काम नगरी विविध समस्याहरु देखाएर पुलको काम सम्पन्न नभएको बताएको छ ।
लुम्बिनी जाने प्रत्येक पर्यटक पुलका कारण घण्टौँ समयसम्म जाममा बस्नु पर्ने बाध्यता छ । निर्माणाधीन पुल समयमा सम्पन्न नहुदा साँघुरो पुलका कारण सवारी जाम हुने र एकतर्फी मात्र सवारी सञ्चालन गराउँदा ट्राफिक व्यवस्थापनमा निकै समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सवारी जाम समस्या कारण पुलमा ट्राफिक व्यवस्थापनका लागि पाँचजना ट्राफिक प्रहरी खटाइएको र जनशक्ति नहुँदा जनपथ प्रहरीको सहयोगमा पुलमा ट्राफिक व्यवस्थापन भइरहेको ट्राफिक प्रहरीकोे भनाइ छ ।
म्याद थपपछिको म्याद २०७५ असार मसान्तको समयावीसम्म तिनाउ पुलको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ भने डण्डातर्फ २५ प्रतिशत काम मात्र भएको छ । तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड दुई लाख ५६ हजार दुई सय १२ रुपैयाँ भ्याटसहित ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले तीन करोड १६ लाख ९८ हजार पाँच सय ५० रुपैयाँ अर्थात ५३ प्रतिशत भुक्तानी लिइसकेको छ ।
त्यस्तै दानव नदीको डण्डा पुल पाँच करोड ५६ लाख ८० हजार एक सय १५ रुपैयाँमा भ्याटसहित ठेक्का सम्झौता भएकोमा निर्माण व्यवसायीले दुई करोड ४० लाख १४ हजार ३१७ रुपैयाँ अर्थात ४३ प्रतिशत भुक्तानी लिइसकेको छ ।
हुलाकी सडक आयोजना गोरुसिंगे कपिलस्तुका प्रमुख विष्णुबाबु पाण्डेले फिल्डबाट प्रतिवेदन लिएर विभाग पठाएकोमा विभागले ठेक्का तोड्ने निर्णय गरेको जानकारी दिए ।
‘०७३ सालमै निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने निर्माण कम्पनीले करिब पाँच वर्षसम्म पुलको निर्माण कार्य सम्पन्न गरेको छैन । समयमा काम सम्पन्न नगरेको ठेकेदारले विभिन्न कारणले देखाएर ०७५ असार २३ गतेसम्म काम सम्पन्न गर्ने थप म्याद पाएको थियो । अब ठेक्का तोडेसँगै फेरि पुल निर्माणको बाटो खुलेको छ, यो महिनाभित्रमा ठेक्का सम्झौता हुन सक्छ’, उनले भने ।
विभागले सम्झौता तोडेपछि अहिले नयाँ ठेक्काको प्रक्रिया सुरु भएको छ । बाँकी काम आठ–नौ करोड रुपैयाँको लागतमा सम्पन्न गर्नेगरी लागत इस्टिमेट तयार भएको र टेण्डर आह्वान भएर मूल्यांकनको चरणमा रहेको हुलाकी राजमार्ग सडक योजना कार्यालय गोरुसिंगेका इन्जिनियर शरद आचार्यले बताए ।
यो सडकखण्डमा यी दुई पुलका कारण हुने घन्टौं जामका कारण पश्चिम तथा उत्तरी क्षेत्रबाट लुम्बिनी जानेहरुले वैकल्पिक बाटोका रुपमा महेन्द्र राजमार्गको सैनामैना तथा कपिलवस्तुका विभिन्न बाटोहरु प्रयोग गर्न थालेका छन् ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहश्रराम यादवले संघीय आयोजना भएकाले प्रदेशले केही गर्न नमिल्ने बताए । अब केही दिनमा म मन्त्रीलाई भेटन जान्छु, यो विषयमा धेरैले कुरा उठाउनुभएको छ, सरकारको प्रनिधिधिका हिसाबले समन्वय गर्छु, पप्पुका सबै काम यस्तै अलपत्र छन्, यी दुई पुलले लुम्बिनी जाने सबैले मन दुखाएका छन्, अब दवावमा भएपछि छिटो लैजाने पहल गर्छु – मन्त्री यादवले भने ।