माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँ एमालेमा प्रवेश – Nepal Press

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँ एमालेमा प्रवेश

काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा जिल्लाका चर्चित मुस्लिम नेता जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने गरेका छन् ।

उनलाई बिहीबार पर्साको जगरनाथपुरमा आयोजित विशाल जनसभामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

मियाँ नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई कुनै बेला भारतीय मिडियाले तारो बनाएका थिए ।

पर्साका एमाले नेताहरु राजकुमार गुप्ता, प्रभु हजारा, निर्मला देवकोटा, मनोज गुप्ता लगायतका नेताहसहित जालिमले हालैमात्र अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

नेपालमा कोभिड महामारी शुरु भएका बेला भारतको पश्चिम चम्पारण जिल्लाका जिल्ला अधिकारीले नै गोप्य पत्राचार गर्दै जालिम मियाले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरुलाई आश्रय दिएको र भारतमा घुसपैठा गराउन खोजेको आरोप लगाएका थिए ।

उनलाई भारतविरोधी करार गर्दै भारतीय मिडियाले आफुमाथि लगाएको भ्रामक र निराधार आरोप झुठो रहेको पुष्टि गर्नका लागि उनले आफनो परीक्षणका लागि स्वास्थ्यकर्मीलाई घरमा बोलाएका थिए ।

भारतको टिभी ९, न्युज १८, जि न्युज, एबीपीलगायतका टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालिम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराउन साजिस गरिरहेको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर चैत २८ गते प्रशारण गरेका थिए ।

सोही कार्यक्रममा पर्सा जिल्लाका माओवादी नेता तथा गत प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट माओवादी उम्मेदवार बनी तेस्रो स्थानमा रहेका मोहम्मद सलिम मन्सूर पनि एमाले प्रवेश गरेका छन् । उनले सो निर्वाचनमा ६ हजार ७ सय २९ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर