नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : एमाले महासचिव पोखरेल (भिडिओ) – Nepal Press

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : एमाले महासचिव पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलन सही दिशामा नभएको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदैं पोखरेलले कार्यनीतिमा देखिएको भिन्न मतका कारण वामपन्थी आन्दोलन गलत दिशामा गएको बताएका हुन् ।

‘नेपाली वामपन्थी आन्दोलन सही दिशामा छैन । कार्यनीतिमा देखिएको फरक मतका कारण हामी बोल्नै छोडेका छौं । नेताहरुको अन्तरकलहमा आधारित नीति बनाउने र त्यसैमा बहकिने प्रवृत्तिबाट वाम आन्दोलन अगाडि बढ्न सक्दैन’, पोखरेलले भने ।

उनले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताए ।

‘कार्यनीति र स्वार्थको प्रश्नमा अल्झिएका कारण हाम्रा महान उद्देश्यहरु प्रभावित भएका छन् । नेकपा गठनको उद्देश्य सही थियो । नेकपाको एकता जोगाउन नसकिएकोमा मलाई पछुतो छ’, पोखरेलले भने ।

उनले राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा नेपालका सबै राजनीतिक दलहरु एकै कित्तामा उभिनुपर्नेमा जोड दिए । ७ दशकदेखि नेपालमा पटक–पटक राजनीतिक क्रान्ति भएनपनि परिवर्तनको प्रत्याभूति दलाउन नसकिएको बताए ।

‘राजनीतिक क्रान्ति गर्न सक्यौ तर परिवर्तन र समृद्धिको एजेण्डालाई अगाडि बढाउन सकेनौं । यसमा भएका कमजोरीबारे सबै दलहरुले आत्मसमिक्षा गर्नुपर्छ’, पोखरेलले भने ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका कारण जनमत खण्डित भएको पोखरेलले दावी गरे ।

नेकपाले प्राप्त गरेको जनमत खण्डित भएपनि जनतामा जाने कुरा स्वभाविक रहेको उनको भनाई थियो ।

‘जनतामा जाने कुरा प्रतिगमन हुन सक्दैन । एमालेको धारणा यही हो । जनमत खण्डित भएको अवस्थामा ताजा जनादेश नै उपयुक्त थियो’, पाखरेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर