नवाज सरिफ स्वदेश फर्कने तयारीमा : पाकिस्तानी मिडिया
इस्लामाबाद । पाकिस्तानको राजनीतिमा एउटा ठूलो पटकथा तयार हुँदैछ । खबरअनुसार सन् २०१९ मा लन्डनमा निर्वासन भएका पूर्वप्रधानमन्त्री नवाज सरिफ सन् २०२२ को पहिलो महिनामा स्वदेश फर्कने तयारीमा छन् ।
पाकिस्तानी सेना र सरिफबीच यसबारे गोप्य छलफल भएको समेत केही अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पाकिस्तानी राजनीतिमा प्रभाव जमाएको सेना वर्तमान प्रधानमन्त्री इमराख खानसँग असन्तुष्ट रहेको र सरिफलाई ल्याउने तयारीमा रहेको खबर समेत केही भारतीय मिडियाले लेखेका छन् ।
तीन दिनअघि पाकिस्तानका पत्रकार सलीम साफीले पनि पूर्वप्रधानमन्त्री सरिफ स्वदेश फर्कने कुरालाई लिएर ट्वीट गरेका छन् । त्यहाँका वरिष्ठ पत्रकार नजम सेठीले पनि सरिफलाई फर्काउन तीन महिनादेखि गृहकार्य भैरहेको कुरा सत्य रहेको बताएका छन् ।
तीनवर्षदेखि सरिफलाई लिएर मौनता साँधेका पाकिस्तानी मिडियाले पनि पछिल्ला दिनमा सरिफको पुनरागमनलाई लिएर समाचार प्रकाशन गरेको जनाइएको छ ।