जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो – Nepal Press

जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो

काठमाडौं । जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र सो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाड्न सफल भएको हो ।

कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीले विगतको कार्य प्रणाली, उत्पादन, बिक्रीलगायत अन्य क्षेत्रमा गरेको सुधार एवं आधुनिकीकरणबाट हालको अवस्थामा आइपुगेको र यसले आगामी दिनमासमेत नाफा बढाउनाका साथै अंशियारलाई लाभांश तथा कर्मचारीलाई बोनस बाढ्न सक्ने अवस्थामा पुग्ने बताएको छ । कम्पनीले आव २०७६÷०७७ मा खुद नाफाबाट रु सात लाख बराबरको बोनस कामदार तथा कर्मचारीलाई वितरण गरेको थियो ।

न्यून जनशक्ति र साधन तथा स्रोतलाई अधिकतम उपयोग गर्दै लोकप्रिय उत्पादन ‘सञ्चो’लगायत अन्य उत्पादनका सामग्रीको बिक्री प्रणालीमा गरिएको सुधारका कारण कम्पनी सवल बन्दै गएको बताइएको छ । नियमित लेखापरीक्षण, प्रविधिको प्रयोग तथा वितरण प्रणालीमा गरिएको सुधारले कम्पनीको क्षमता विस्तार भएको र बजारमा राम्रो प्रदर्शनी गरिएको जनाइएको छ ।

‘नियमित लेखापरीक्षण गरी सोको प्रतिवेदन समयमै महालेखा परीक्षकको कार्यालयमा पेश गरिएको, लेखा प्रणालीलाई सुधार गरी सफ्टवेर निर्माण गरिएको, विगत २८ वर्षदेखि हुन नसकेको साधारणसभा सम्पन्न भएको र प्रत्येक वर्ष नियमित साधारणसभा समयमै सम्पन्न गरिएकाले स्थापनाको पुरानो शेयर संरचनालाई सुधार तथा परिमार्जन गर्ने दिशामा कम्पनी अग्रसर छ’, विज्ञप्तिमा उल्लेख छ ।

सरकारी निकायमात्र शेयर सदस्य रहेको कम्पनीले आफ्नो शेयर संरचनामा सुधार र परिमार्जन गरी पूँजी वृद्धिका लागी सार्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

उक्त कम्पनीमा हाल नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन् ।

सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनी नै नाफामा रहेको एकमात्र संस्था हो । अर्थ मन्त्रालयले प्रकाशन गरेको २०७८ को सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदनमा पनि यस कम्पनीले आव २०७७/७८ मा एक करोड २२ लाख खुद नाफा गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *