रञ्जित रेको दावीः प्रोटोकलको कुरा गर्ने नारायणकाजीको निवासमै भात खाएँ – Nepal Press

रञ्जित रेको दावीः प्रोटोकलको कुरा गर्ने नारायणकाजीको निवासमै भात खाएँ

‘भारतीय खुफिया एजेन्सीसँग त्रसित थिए प्रचण्ड’

सन् २००२ देखि सन् २००६ सम्म नेपाल, भुटानजस्ता भारतका हिमाली छिमेकीहरु हेर्ने उत्तरी डिभिजनका हाकिम रञ्जित रे दोश्रो संविधानसभाको चुनावदेखि नेपालको संविधान निर्माण अनि भारतीय नाकाबन्दीताका नेपालमा राजदूत थिए ।

उनै रेले केही महिना अगाडि आफ्नो प्रथम पुस्तक ‘काठमाडौं डिलेमा’ प्रकाशन गरे । विश्व प्रसिद्ध पेन्गुइन प्रकाशनले ल्याएको पुस्तकको विमर्ष नेपालमा समेत व्यापक भएको छ । १० अध्यायको पुस्तकमा रन्जित रेले मूलतः नेपाल भारत सम्बन्धका विभिन्न आयाम केलाएका छन् ।

नेपाल-भारतको ऐतिहासिक सम्बन्धदेखि सन्धिलाई केस्रा-केस्रा व्याख्या गर्दै रेले दुई देशले थप सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा आउने चिनियाँ लगानीलाई भारतले शंंकाले मात्रै हेर्न नहुने जस्ता कुरा आफ्नो पुस्तकमा समेटेका छन् ।

यद्यपि, नेपालले जारी गरेको नयाँ नक्सादेखि २०७२ सालको भारतीय नाकाबन्दीबारे भने रेले भारतीय संस्थापनकै अडान दोहोर्‍याएका छन् । उनी नाकाबन्दीलाई मधेसीले गरेको नाकाबन्दी भन्छन् । भारतले गरेको भन्दैनन् । यस्तै नेपालले २०७७ मा जारी गरेको नयाँ नक्सामा भारतीय भूमि मिसाइएको टिप्पणी गरेका छन् ।

रेको पुस्तकमा नेपाली नेतासँगका संवाद र उनीहरुको बारेमा टिप्पणी, दोश्रो संविधानसभा चुनाव, मोदीको नेपाल भ्रमण, संविधान जारी भएपछिका लफडाजस्ता उनको कार्यकालका अनु्भव मात्रै छैनन्, ज्ञानेन्द्रले सत्ता हातमा लिएकादेखि पछिल्लो समय देउवा प्रधानमन्त्री भएपछिका टिप्पणीहरु संग्रहित छन् । त्यसमध्ये कम चर्चामा आएका वा नआएका केही कुराको यहाँ बुँदागत चर्चा गरिन्छ ।

भारतीय ‘खुफिया’ एजेन्सीसँग प्रचण्डको त्राश

हिंसात्मक आन्दोलन गरेर आएका प्रचण्ड आफूसँगको एक कुराकानीमा अचम्मसित आत्तिएको देखेको रेले उल्लेख गरेका छन् । पृष्ठ ९१ मा उनले भारतीय खुफिया एजेन्सीसँग प्रचण्ड धेरै आत्तिएको आफूले पाएको लेखेका हुन् ।

भारतीय खुफिया एजेन्सीले प्रचण्डलाई तनाव दिएको प्रमाण माग्दा रेलाई प्रचण्डले एक कागज दिएको र त्यो पछि बुझ्दा वाटरमार्क गलत भएको फेक भएको पत्ता लागेको रेको भनाइ छ । रेले प्रचण्ड आत्तिएको खुफिया एजेन्सी ‘र’ वा अथवा अरु कुनै हो भन्ने स्पष्ट पारेका छैनन् ।

प्रचण्डको बारेमा टिप्पणी गर्दै रेले प्रचण्ड जसलाई जे सुन्दा राम्रो लाग्छ त्यही भन्ने तर काम भने आफ्नै तरिकाले गर्ने टिप्पणी गरेका छन् । प्रचण्डको भन्ने र गर्ने दुई खाले आदत भएको उनको विश्लेषण छ । रोचक कुरा यो छ कि रेको पुस्तक प्रबद्र्धन गर्न नेपालमा गरिएको एक कार्यक्रममा प्रचण्ड सहभागी मात्रै भएका थिएनन्, रेको तारिफसमेत गरेका थिए । कतै-कतै प्रसंगहरुमा प्रचण्डको पार्टी माओवादी नेपाली कांग्रेस र नेकपा (एमाले) भन्दा प्रगतिशील भएको टिप्पणी गरेको आधारमा प्रचण्ड भावुक भएर रेको तारिफ गरेका हुन सक्छन् ।

नारायणकाजी दोहोरो शैली

चीनसँग नजिक मानिएका नारायणकाजी श्रेष्ठ कूटनीतिज्ञहरुले नेपाली नेताहरुसँग भेट्दा परराष्ट्र मन्त्रालयले प्रोटोकल बनाउनुपर्ने मान्यता राख्छन् । तर रेले आफू राजदूत छँदा श्रेष्ठले पनि प्रोटोकल विपरित भेट गर्ने गरेको दावी गरेका छन् ।

आफूले नारायणकाजीसँग उनकै निवासमा भोजन गरेको बताउँदै रेले नारायणकाजी भारतीय दूतावास आउन भने नमानेको स्वीकारेका छन् । यस्तै आफ्ना स्वकीय सचिवमार्फत् आफ्नो चुनावी क्षेत्रमा सहयोग मागेका नारायणकाजीले हस्तान्तरण कार्यक्रम गर्न भने नमानेको पृष्ठ १५ मा रेले लेखेका छन ।

चुनावमा यस्तो सुझाव

रञ्जित रेले दोश्रो संविधानसभाको चुनावमा म्यादी प्रहरीको सट्टामा भारतीय सेनामा काम गरेर अवकाश पाएका नेपाली गोर्खाहरुलाई परिचालन गर्न सल्लाह दिएको उल्लेख गरेका छन् । तर, आफ्नो सल्लाह तत्कालीन प्रधानन्यायधीश तथा चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सुनेर पनि कुनै उत्तर नदिएको उनको भनाइ छ ।

भारतका विकास परियोजना सुरक्षामा यस्ता अवकासप्राप्त सैनिकहरुलाई प्रयोग हुनुपर्ने रेको तर्क छ । उनले नेपालका ३० हजार युवाहरु भारतीय गोर्खा फौजमा रहेको र १ लाख २५ हजार पेन्सन पाएका अवकासप्राप्त सैनिकहरु भएको उल्लेख गरेका छन् । त्यो पेन्सनको रकम नेपालको जीडीपीको २ प्रतिशत हुने उनको दावी छ ।

मोदीको पशुपतिनाथ भ्रमणका प्रस्तावक रामवरणपुत्र

सन् २०१४ को भारतीय आम निर्वाचनबाट सत्तामा आएको भारतीय जनता पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको पशुपतिनाथ यात्राको पहिलो प्रस्ताव गर्ने व्याक्ति नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका पुत्र भएको रेको भनाइ छ । पुस्तकको पृष्ठ ५४ मा उनले आफ्नो निजी सम्पर्क सुत्रबाट डा. रामवरण यादवका पुत्र चन्द्रमोहन यादवले मोदीलाई भेटेर साउनको पहिलो सोमबार पशुपतिनाथमा आउन निम्तो गरेको र त्यही आधारमा तत्कालीन भारतीय परराष्ट्र सचिव सुजता सिंहले आफूलाई व्यवस्था मिलाउन भनेको रेले लेखेका छन् ।

यस्तै पृष्ठ ५५ मा रेले नेपाल आउनुअगाडि मोदीले नेपालमा कति शक्तिपिठहरु नेपालमा छन् भनेर सोधेको, तर आफू थाहा नपाएर जिल्ल परेको रेले लेखेका छन् । नेपाल आउनासाथ सबै बुझेर जानकारी दिल्ली पठाएको उनले बताएका छन् ।

मोदी भ्रमणकै सवालमा रेले पृष्ठ ५७ मा आफूले द्धारिका होटलमा रहन भने पनि प्रधानमन्त्री मोदीको सुरक्षा टोलीले अस्वीकार गरेको उल्लेख गरेका छन् ।

सुशील कोइरालाको लम्बेतान भाषणले मोदी हैरान

मोदीको प्रथम नेपाल भ्रमणमा आयोजना गरिएको बैङ्वेट भाषण मोदीले छोटो भाषण गरेको तर नेपालका प्रधानमन्त्री सुशील कोइरालाले लामो र पट्यारलाग्दो भाषण गरेको रेले सम्झिएका छन् । पृष्ठ ५६ र ५७ मा रेले लेखेअनुसार मोदीले कोइरालाको पट्यारलाग्दो भाषण छोट्याउन उनलाई संकेत गरेका थिए । आफूले मुख्यसचिव लिलामणि पौडेललाई आग्रह परे पनि पार नलागेको उनले लेखेका छन् ।

ओली नेपालको सबैभन्दा चतुर नेता

रेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न कोणबाट व्याख्या गरेका छन । पृष्ठ ८६ मा ओली नेपालका नेताहरुमा सबैभन्दा चतुर र बोलीको पक्का भएको लेखेका छन् ।

ओली चीनतिर नढल्किुउन् भनेरै उनको पहिलो सरकारलाई भारतले सहयोग गरेको रेले पृष्ठ ९७ मा लेखेका छन् ।

अमेरिकन र युरोपेली धर्म निरपेक्षताको पक्षमा

आफ्नो नेपाल बसाइको क्रममा रेले अमेरिकी, बेलायती र युरोपेली युनियनका नेपालका स्वार्थका बारेमा खुलेर लेखेका छन् । नेपालमा जनजाति समुदाय खास गरी तामाङ समुदायमा धर्म परिवर्तनको काममा पश्चिमा राष्ट्र मात्रै नभएर कोरियन संस्थाहरु समेत सक्रिय भएको रेले पृष्ठ ९३ मा लेखेका छन् ।

नेपालको धर्म निरपेक्षतामा पश्चिमा राष्ट्रहरुले सहयोग गरेको भन्दै उनले नेपालमा संयुक्त रास्ट्र संघको आफू सहभागी एक कार्यक्रममा अमेरिकी राजदूतको मुख्य जोड नै धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता भएको लेखेका छन् । पृष्ठ २०९ मा रेले बेलायतले नेपालको आदिवासी–जनजाती महासंघमा धेरै लगानी गरेको उल्लेख गरेका छन् ।

नेपालको कमजोर सरकारी सूचना संयन्त्र र लोसे खुफिया एजेन्सी

संवैधानिक राजतन्त्रदेखि संघीय गणतन्त्रसम्ममा आउँदा नेपालमा सूचना संयन्त्रको लोसेपनदेखि नेपाली खुफिया एजेन्सीको कमजोरीका बारेमा रेले फेहरिस्त प्रस्तुत गरेका छन् ।

पृष्ठ ३८ मा रेले भारतमा लुकिरहेका भूमिगत माओवादीका नेताहरुको सूचना नेपाली खुफिया एजेन्सीसँग अत्यन्तै कम भएको लेखेका छन । यस्तै पृष्ठ १६७ मा नेपालमा भूकम्प आएको सूचना विदेश भएका नेपाली प्रधानमन्त्रीलाई नेपाली सरकारी संयन्त्र भन्दा पहिले मोदीले फोन गरेर पुर्‍याएको उदाहरण दिएका छन् ।

सैन्य नाकाबन्दीको विपक्षमा थिए सेनाध्यक्ष

२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हातमा सत्ता लिएपछि माओवादीसँग लडिरहेको नेपाली सेनालाई सन् १९५० को सन्धिले नै दिएको हतियार निर्यात भारतले रोकेको थियो । यस बारेमा भारतीय सेनामा असन्तुष्टि भएको रेले लेखेका छन् ।

पृष्ठ ३५ मा रेले तत्कालिन भारतीय सेनापति जोगिन्दर जसवन्त सिंह असन्तुष्ट भएको र नेपाली सेनालाई हतियार रोक्न नहुने पक्षमा भएको रेले लेखेका छन् । भारतीय सेना, गृहमन्त्रालय, खुफिया एजेन्सी माओवादीलाई सैन्य बलबाटै दबाउनु पर्ने पक्षमा भएको उनले उल्लेख गरेका छन् ।

ज्ञानेन्द्रले ग्रिन सिग्नल खोजेका थिए

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा सत्ता हातमा लिए पनि त्यसको पहिलो प्रयासको थालनी भने २०५९ बाटै गरेको रेले लेखेका छन । पृष्ठ ३२ मा रेले देउवा सरकारलाई असक्षम भनेर अपदस्त गरेलगत्तै सत्ता हातमा लिन लागेको र त्यसको लागि भारतीय प्रधानमन्त्रीका प्रमुख सचिव ब्रजेश मिश्रलाई सन्देश दिएको लेखेका छन् । तर, मिश्र सकारात्मक नभएपछि ज्ञानेन्द्र तत्काललाई ब्याक भएको रेको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर