सामूहिक बलात्कार प्रकरण- वैदेशिक रोजगारीमा हिँडेकाहरू संलग्न
घटनाबारे गहन अनुसन्धान गर्दैछौं- प्रहरी
काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कमा सामुहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरु वैदेशिक रोजगारीको तयारीमा रहेका युवाहरु भएको खुलेको छ ।
सोमबार सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया महिलालाई ९ जनाले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । साेमबार राति र मंगलबार बिहान फरक फरक होटलमा लगेर महिलालाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा-६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ रारा-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष लाई पक्राउ गरेको छ ।
प्रहरीले मङ्गलवार राति सात जना र बुधवार दुई जनालाई पक्राउ गरेको हो । महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सबैलाई बुधवार प्रहरीले सार्वजनिक गरिसकेको छ ।
बलात्कारको आरोपमा पक्राउ परेकाहरू वैदेशिक रोजगारमा जान हिँडेकाहरू रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले जानकारी दिए ।
‘
कोही पासपोर्ट बनाउन आएका छन् कोही भिसा लगाउन आएका छन् कोही विदेश उड्न आएका छन्,’ उनले भने, ‘बलात्कार अभियोगमा पक्राउ परेकाहरु सबैजना वैदेशिक रोजगारीकै शिलशिलामा काठमाडौं आएको देखिन्छ ।’
पक्राउ परेको ९ जना मध्ये ७ जनालाई बुधबारनै म्याद थपको लागि अदालत पेस गरिएको र अन्य २ जनालाई आज पेस गरिने उनले जानकारी दिए ।
उनीहरुमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको छ ।
यसरी पक्राउ परे आरोपी
मंगलवार दिउँसो पीडित महिला आफैं प्रहरी सम्पर्कमा आएकी थिइन् । प्रहरीले नै ती महिलालाई अस्पताल पुर्याएको थियो ।
नयाँ बसपार्कमै रहेको प्रहरी बिटमा आफू माथि सामूहिक बलात्कार भएको उजुरी गरेकी महिलाले त्यो भन्दा धेरै सूचना दिन सकिनन् । प्रहरीले उनको अवस्था हेरेर थप केरकार गरेन ।
नयाँ बसपार्कमा घटना भएको थाहा पाएको प्रहरीले कुन ठाउँमा यस्तो भएको र घटनामा कति संलग्न छन् भन्ने बारे जानकारी पाएको थिएन ।
प्रहरीले बसपार्कमा भएका सबै सीसीटिभी फुटेज हेर्न सुरु गर्यो । केही स्थानमा उनी एक पुरुषसँग देखिएपछि प्रहरीलाई अनुसन्धान गर्न सहज भयो । त्यसपछि प्रहरीले होटेल पत्ता लगायो । होटेल पत्ता लागिसकेपछि बलात्कारमा संलग्नहरू पक्राउ गर्न प्रहरीलाई थप सहज भयो ।
अनुसन्धान पछि घटनामा नौ जना संलग्न रहेको पत्ता लगाएको प्रहरीले अरोप लागेकाहरू मध्ये सात जनालाई मंगलवार र दुई जनालाई बुधवार पक्राउ गरेको हो ।
सुरुमा एक जनाले महिलालाई होटेलमा लगेर गएको र त्यसपछि अर्को एक जनालाई फोन गरेर बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
त्यसको भोलि पल्ट अर्थात् १३ गते महिलालाई अर्को होटेलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
घटनामा संलग्न रहेका सबै पक्राउ परेको भए पनि प्रहरी अझै नजिकबाट घटनालाई अनुसन्धान गरिरहेको जनाएको छ ।
‘महिलालाई जबरजस्ती होटेलमा लगेको देखिएको छैन । किन होटेलमा लगियो ? कसले होटेलमा लग्यो ? र के भनेर लग्यो ? यस्ता धेरै कुरा अझै पनि खुल्न बाँकी छ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ‘हामी यो घटनालाई गहनरूपले अनुसन्धान गरिरहेका छौं ।’
महिलाले आफ्नो घर बताएको ठाउँ र पक्राउ परेका व्यक्तिहरुको ठाउँ फरक जिल्ला भए पनि एउटै प्रदेश हो । उनीहरूबीच कसरी सम्पर्क भयो भन्ने बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।