तीन दिन हिउँमा फसेको एडीबीको टोलीलाई यसरी गरियो उद्दार (पथप्रदर्शकको बयानसहित) – Nepal Press

तीन दिन हिउँमा फसेको एडीबीको टोलीलाई यसरी गरियो उद्दार (पथप्रदर्शकको बयानसहित)

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु भ्रेमाथाङमा हिउँमा फसेको एसियाली विकास बैक (एडीबी) को टोलीलाई हेलिकप्टरमार्फत उद्दार गरिएको छ । पहिरोको अध्ययन गर्न मेलम्ची खानेपानी आयोजनाको मुहान भेम्राथाङमा गएको १६ जनाको टोली हिउँमा फँसेको थियो ।

श्री एअरलाइन्सको हेलिकप्टरमामार्फत उनीहरुलाई उद्दार गरिएको हो । अध्ययन गर्न गएको टोलीका ५ जनालाई आज विहान काठमाडौं ल्याइएको एडीबीको टोलीको पथप्रर्दशक सोनाम लामाले बताए । लामाका अनुसार बाँकीलाई हेलम्बु गाउँपालिकाको तारकेश्वरमा राखिएको छ । उनीहरु गाडीमा काठमाडौं आउँदैछन् ।

गत असार १ गते हेलम्बुमा हिमपहिरो जाँदा मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको थियो । त्यसैको अध्ययन गर्न एडीबीको विशेषज्ञसहितको टोली पहिरो गएको मुख्य ठाउँमा गएको थियो । एडीबी मेलम्ची खानेपानी आयोजनाको ऋणदाता हो ।

एडीबीको टोली डिसेम्बर २३ मा हेलिकप्टरमार्फत मेलम्ची खानेपानीको पहिरो गएको ठाउँ भ्रेमाथाङ पुगेको थियो । एडीबीको विशेषज्ञ, हेलम्बुकै ५ स्थानीय र एक जना पथप्रर्दशक गरी १६ जना टालीमा थिए । टोलीको पथप्रदर्शन गरिरहेका थिए पथप्रर्दशक ट्रेकिङ गाइड लामा । उनी हेलम्बुकै हुन् । उनी भ्रेमाथाङमा यसअघि पनि पुगेका थिए ।

ट्रेकिङ गाइडको रुपमा काम गर्दै आइरहेका सोनाम आवद्ध कन्सल्टेन्सीले एडीबीको टोलीलाई भे्रमाथाङ लैजाने टेन्डर पाएको थियो । कन्सल्टेन्सीले सोनामलाई पठायो । टोली त्यहाँ जाँदा हिउँ परेको थिएन । सुख्खा नै थियो ।

भ्रेमाथाङ मेलम्ची पहिरोको मुख्य ठाउँ हो । ग्यासियरसँगै चुन मिसिएको माटो माथिबाट बगेर ठूलो चौर बनेको छ । जुन चौर आँखाले हेर्दा पनि भ्याइदैन । २३ डिसेम्बर अर्थात ८ गते विहानै भ्रेमाथाङ पुगेको टोलीले चौर नजिकै टेन्ट गाडेर क्याम्प बनायो । १६ जनाका लागि ४ वटा टेन्ट राखिएको थियो, जहाँ सुत्ने, खाने पकाउने सबै व्यवस्था थियो ।

टोलीले ५ दिन काम अध्ययन गरिसकेको थियो । तर छैठौं दिन अर्थात मंगलबार बिहानैदेखि मौसम विग्रियो । ३६ सय मिटर उचाइमा पुगेको टोलीलाई छैटौं दिन मौसमले साथ दिएन । मंगलबार बिहानैदेखि हिउँ पर्न थाल्यो । तीन दिन लगातार हिउँ परेको पर्‍यै भयो । बुधबार झन् धेरै हिउँ पर्‍यो ।

ट्रेकिङ गाइड सोनाम भन्छन् – अस्ति दिउँसोदेखि हिउँ पर्न थाल्यो । हिउँ परिरहे पनि हामीले काम रोकेका थिएनौ । अस्ति रातिदेखि चाहिँ काम रोक्नैपर्ने अवस्था आयो ।

उनीहरुले एक रात त टेन्टमै विताए । तर हिजो दिउँसो २ बजे सोनामसहित १६ जना बसेको टेन्ट हिमपहिरोले बगायो । उनीहरु माथिबाट हिउँ झर्न थालेपछि १२ बजे नै टेन्ट छोडेर भागिसकेका थिए । धन्न उनीहरुलाई केही भएन ।

सोनामले भने – भ्रेमाथाङको चौरभन्दा साइडमा टेन्ट राखेर बसेका थियौ । हाम्रो टेन्ट बगाएपछि हामीले आफ्ना सामान केही पनि निकाल्न पाएनौं । सबै बगाएर लग्यो ।

अनुभवि ट्रेकिङ गाइड थिए सोनाम । उनको अनुभवले बचायो १५ जनालाई । हिमपहिरो कस्तो बेलामा जानसक्छ भन्नेमा उनी अनुभवी थिए ।

उनले हिमपहिरोमा जोगिएको अनुभव सुनाए, ‘हिउँ परेपछि दिउँसो अर्कै आवाज आयो । माथिबाट हिउँ खस्न थालेपछि हिमपहिरो जानसक्ने खतराको संकेत हो भन्ने बुझछौं हामी । त्यसपछि टेन्ट छोडेर भे्रमाथाङको चौरमा आएर बस्यौं । हिउँ पहिरोमा पुरिने डर थियो । टेन्टमा बसेको भए कोही सकुशल फर्कदैन थियौं होला ।’

तर टेन्ट भएको ठाउँदेखि चौरसम्म आइपुग्न ठूलै सर्घष गर्नुपर्यो । टोलीका सबै आत्तिएका थिए । त्यसमाथि ४ फिट जमेको हिउँ । हिउँको बाटो खनेर बाटो पत्ता लगाउनुपर्र्ने । क्याम्प साइटबाट चौरमा आउन डेढ–दुई घण्टा लाग्यो ।

‘चौरसम्म पुग्न बाटो खन्नु पर्यो । ४ फिट हिउँमा बाटो खन्दा कम्ता सकस भएन,’ सोनामले सुनाए ।

हिउँमा बाटो बनाउन उनलाई डेढ घण्टा लाग्यो । बाटो खन्दा उनले लगाएको जुत्ताले थामेन । जुत्ता फाट्न थाल्यो । खुट्टाले चिसो सहन गाह्रो परिरहेको थियो । झण्डै ७ घण्टा हिउँभित्रै बस्नुपर्यो ।

उनले भने- हामी त्यहाँबाट कतै भाग्ने चान्स नै थिएन । गाइड म मात्रै थिएँ । हिउँको बाटा खन्न मलाई उहाँहरुले पनि सपोर्ट गर्नुभयो ।

उनका अनुसार त्यहाँबाट सुरक्षित ठाउँमा जान पनि झण्डै ४२ सय मिटरमा चढेर जानुपर्ने हुुन्थ्यो । त्योभन्दा माथि ७ मिटर बाक्लो हिउँ परेको थियो ।

टीममा गएका कर्मचारीहरु हिउँमा फसेको अनुभव नगरेका भर्खरैका युवाहरु थिए । सोनामले भने – उनीहरुसँग यस्तोमा काम गर्ने अनुभव छैन । खोलाबाट पनि आउने बाटै थिएन ।

बस्नको लागि कपडाहरु स्लीपिङ ब्याग त लिएर गएका थिए । तर सबै पहिरोसँगै पुरिए । त्यो रात ओडारमै आगो बालेर डेढ दिन कटाए उनीहरुले ।

‘दुई–दिन हिउँमै रोकियौ । टेन्ट बगाइहाल्यो खाना पनि थिएन । त्यत्तिकै ओडारमुनि बस्यौ । हिजो दिनभरि आज बिहानसम्म डेढ दिन भोकै भयौं,’ उनले भने ।

त्यहाँ राति त्यहाँको तापक्रम माइनस २५ सम्म पुगेको उनी बताउँछन् ।

सोनामले भने, ‘कम्पनीबाट गएका कर्मचारीहरुलाई त डराइराखेका थिए । मलाई भने खासै डर लागेन । म त धेरैचोटी परिसकँे । अबको उपाय भनेको हेलि रेस्क्यु मात्रै हो भन्ने मनमा लागिरहेको थियो । टोलीमा रहेकाहरु भने अब बाँचिदैन भनेर घरतिर रुँदै फोन गर्दै थिए ।’

३६ घण्टासम्म त जसरी बाँच्न सक्छौ भन्ने उनीमा आत्मविश्वास थियो । र सबैलाई ढाडस दिए । भाग्यले साथ दिए पक्कै उद्धार हुन्छ भन्ने लागिरहेको थियो सोनामलाई । जब बिहीबार विहान उनीहरुले हेली देखे त्यसपछि खुसीको सीमै भएन । ‘अब हामी बाच्यौं’ भन्दै सबैजना चिच्याए ।

हिउँमा फसेका केहीलाई भने स्वास्थ्यमा समस्या आएको थियो । उनीहरुसँग मेडिसिन अक्सिजन सबै थिए । उद्धारको लागि हेलिकप्टर नआएको भए पनि उनले हिँडेरै भए पनि तल झर्ने योजना बनाइसकेका थिए ।

उनी भन्छन्, ‘आज पनि हेलि आएन भने त्यही खोलाबाटै भए पनि आउन पर्‍यो भनेर बसिराखेका थियौ ।’

टोलीमा रहेकामध्ये स्वास्थ्य समस्या देखिएका ५ जनालाई १० बजे हेलिकप्टरले रेस्क्यु गरेर काठमाडौं ल्यायो । सोनाम अहिले घरमै आराम गरिरहेको छन् । हिँउमा बाटो खन्दा उनको खुट्टामा घाउ भएको छ । आफूसहित सबैको ज्यान जोगिएपछि सबै पिडा भुलेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *