भोलि पदाधिकारीबिहिन केन्द्रीय समिति घोषणा गर्ने प्रचण्डको संकेत – Nepal Press

भोलि पदाधिकारीबिहिन केन्द्रीय समिति घोषणा गर्ने प्रचण्डको संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि केन्द्रीय समिति निर्वाचित हुने बताएका छन्। महाधिवेशनस्थल प्रज्ञा भवनबाट बाहिरने क्रममा शुक्रबार साँझ संवाददाताहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पारित भएको र अब भोलि केन्द्रीय समिति चयन हुने बताए।

‘राजनीतिक प्रतिवेदन जोडदार ढङ्गले पारित भयो,’ प्रचण्डले भने, ‘भोलि विधान पारित हुन्छ। भोलि नै केन्द्रीय समिति पनि निर्वाचित हुन्छ।’ यो महाधिवेशनबाट नेतृत्व परिवर्तन भने नहुने उनको भनाइ थियो। यसको अर्थ भोलि पदाधिकारी पनि नबन्ने हो। ‘अहिले त कहाँ नेतृत्व परिवर्तन हुन्छ र,’ प्रचण्डले भने।

प्रचण्डले प्रस्तुत गरेको ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन आज सर्वसम्मतिले पारित भएको छ। त्यसमा पुरक प्रस्ताव राखेका राम कार्की र हरिबोल गजुरेलले मत समेटिएको प्रचण्डले बताए।

त्यस्तै नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई भने सम्मान गर्ने तय भएको प्रचण्डलेब बताए। यद्यपि बन्द सत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रचण्डले न्यौपानेले पार्टी प्रणालीमा नभइ बाहिर फरक मत राखेको प्रति असन्तुष्टि भने जनाएका थिए।

‘उहाँको विचारलाई भिन्नमतको रुपमा स्वीकार गरिन्छ र आवश्यकता परेमा छलफलमा समेत लगिनेछ, प्रचण्डले भनेका थिए, ‘भिन्नमतको सम्मान र बहसबाट मात्रै सहि विचारको विकास हुन्छ भन्नेमा माओवादीले विश्वास गर्दछ।’

न्यौपानको शैलीप्रति प्रचण्डको असन्तुष्टि थियो, ‘त्यसरि राखिएको उक्त मत सै प्रतिनिधिमाझ छलफलका लागि जाने थियो तर वहाँले छलफलमा नल्याइकन नै सार्वजनिक गर्नु भयो।’

अहिले वैचारिक विकासको शुरूआत भएको र चुनावपछि विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्ने प्रचण्डले बताए। ‘सङ्गठनको रूपान्तरण र विचारलाई अझ विकसित गर्नका लागि चुनावपछि त एउटा अधिवेशन गर्नुपर्छ,’ प्रचण्डले भने, ‘वैचारिक विकासको सुरूआत भएको छ। चुनावपछि विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्छौं।’

माओवादीको आठौं महाधिवेशन ११ पुसमा शुरू भएको थियो। प्रचण्डको प्रवितेदनमाथिको छलफल लम्बिएपछि १७ गतेसम्मलाई महाधिवेशनको समय थप गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर