किन जान्छ बारम्बार बत्ति ? कुलमानले बोलेको पनि पुगेन – Nepal Press

किन जान्छ बारम्बार बत्ति ? कुलमानले बोलेको पनि पुगेन

काठमाडौं । अहिले घोषितरुपमा लोडसेडिङ छैन, तर झ्याप झ्याप बिजुली गइरहेको छ । कहिले छिट्टै बिजुली आउँछ त कहिले घण्टौं कुनुपर्ने स्थिति छ ।

यसअघि नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्य हुँदाभन्दा अहिले कुलमान घिसिङको पालामा विद्युत् अनियमित छ । त्यतिबेला शाक्यलाई हटाएर घिसिङलाई प्रधिकरणको नेतृत्वमा ल्याउन सडकदेखि सदनसम्म आवाज उठ्यो । धेरैलाई लागेको घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि बिजुली नियमित हुन्छ, झ्याप झ्याप बत्ती जाँदैन । तर परिणाम त्यस्तो भएन ।

१८ घण्टा लामो लोडसेडिङ हटाएर लोकप्रियता कमाएका घिसिङको पालामा पनि बिजुली अनियमित भएको भन्दै जनगुनासो बढ्दो छ । प्राधिकरणले भने जाडो याम भएकाले विद्युतीय सामग्रीको बढी प्रयोग भएको र कतै ट्रान्सफर्मर फेर्न लागेकाले विद्युत् आपूर्ति नियमित हुन नसकेको बताएको छ ।

नेपालले भारतलाई समेत विद्युत् बिक्री गरिरहेको छ तर नेपालमै किन यसरी बिजुली अनियमित भइरहेको छ ? भन्ने धेरैको प्रश्न छ ।

तीन दिनअघि घिसिङले पत्रकार सम्मेलन नै गरेर कतैकतै ट्रान्सफर्मर फेर्न लाग्दा बिजुली आपूर्तिमा समस्या भएको र अब समाधान हुने बताएका थिए । उनले शुक्रबारबाट बत्ति जाने क्रम रोकिने दावी गरेका थिए । तर पनि समस्या उस्तै छ । हिजो र आज पनि बत्ति जाने क्रम जारी रह्यो ।

घिसिङका अनुसार विद्युत् नपुगेर भन्दा पनि मर्मतका कारण समस्या भएको हो । काठमाडौं उपत्यकामा ९ वटा सबस्टेशन छन् । त्यसपछि उपत्यकामा २ हजार मेगावाटको विद्युत् सप्लाई सहज हुनेछ र विद्युत् आपूर्तिसम्बन्धी समस्या दीर्घकालीनरुपमा नै अन्त्य हुनेछ । यससँगै केही फिडरहरुमा आगलागीका कारण समस्या भएको उनको भनाइ छ ।

माथिल्लो तामाकोशीको बिजुली आएपछि विद्युत् आपूर्तिमा झन् सहज भएको उनले बताए । उनका अनुसार विगत वर्षभन्दा काठमाडौंमा अहिले ८० देखि १०० मेगावाट बिजुलीको लोड बढेको छ । जसकारण ट्रान्सफर्मरमा लोड पनि बढेको छ । त्यसैले अहिले लोडअनुसारको ट्रान्सफर्मर फेर्ने काम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भने जाडो याममा विद्युतीय उपकरणको प्रयोग बढेकाले समस्या भएको बताउँछन् ।

‘जाडोयाम सुरु हुनुभन्दा पहिले काठमाडौंमा ३ सय मेगावाट बिजुली माग थियो । अहिले कम्तिमा ४५५ मेगावाट माग भरहेको छ’, उनले भने, ‘यद्यपि, अब छिट्टै समस्या समाधान हुन्छ ।’

भट्टराईका अनुसार नेपालको आन्तरिक उत्पादन १ हजार ५५६ मेगावाट रहेको छ । जसमा निजी क्षेत्रको ४ सय ९ मेगावाट, विद्युत् प्राधिकरण र प्राधिकरणको सहायक कम्पनीको १ हजार ४७ मेगावाट विद्युत् छ ।

नेपालले भारतबाट १ सय ६९ मेगावाट विद्युत् ल्याएर व्यवस्थापन गरिरहेको छ । नेपालले हाल भारतलाई ३९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *