घनश्याम भुषाल भन्छन्: दुई तिहाईको ग्यारेन्टी नहुँदासम्म ओलीले चुनाव गराउँदैनन् – Nepal Press

घनश्याम भुषाल भन्छन्: दुई तिहाईको ग्यारेन्टी नहुँदासम्म ओलीले चुनाव गराउँदैनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले आफूले दुई तिहाई ल्याउने ग्यारेन्टी नभएसम्म केपी ओलीले चुनाव नगराउने दावी गरेका छन् । उनले ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलन रोकिने पनि बताए ।

प्रचण्ड–माधव पक्षले राजधानीमा गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्ने क्रममा नेता भुषालले आफ्नो समय ओलीमाथि आक्रमणमा खर्चेका छन् । ओली पराजित नभए देशमा लोकतन्त्र पराजित हुने उनको भनाइ थियो ।

उनले भने– चुनावको सपना कसैले देखेका छन् भने गलत हुन्छ । संविधान च्यातेर यो चुनाव हुने वाला छैन । म यो मासलाई अगाडि राखेर भन्छु, दुई तिहाईको ग्यारेन्टी नभएसम्म ओलीले चुनाव गर्दैनन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाएको पत्र सबैले पढ्न भुषालले आग्रह गरे । भने– त्यो पत्रमा संसद विघटनका आठ कारणमध्ये सात कारण आफूलाई दुई तिहाई चाहिएको भन्ने छ । उहाँले सबै सेटिङ मिलाउनुभएको छ । अदालतमा समेत सेटिङ गर्नुभएको छ । तर, कामरेड हामी तपाईंका चलखेल, जालझेल र सेटिङ सफल हुन दिँदैनौं ।

उनले ओली पक्षले बनाएको साइबर सेनालाई साइबर स्यालको संज्ञा दिए । ओलीसँग ‘साइबर स्याल’ र सेटिङवाला मान्छे मात्र बाँकी रहेको टिप्पणी भुषालले गरे ।

अब पार्टी पुनर्र्गठन गर्दा अर्को ओली जन्मिन दिनु नहुने पनि भुषालको भनाइ छ । उनले भने– अब अर्को ओली हाम्रो पार्टीमा जन्मिन दिँइदैन । ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलनले विश्राम लिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर