जिल्ला अधिवेशन रोक्न मागसहित महोत्तरीका कांग्रेस नेता नेपालीले सुरु गरे आमरण अनसन


जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरीका नेता बजरंग नेपालीले जिल्ला पार्टी कार्यालय जलेश्वरमा कठ्यांग्रिँदो चिसोमा भोक हड्ताल (आमरण अनशन) सुरु गरेका छन् ।
क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकि सुनियोजित ढंगले पुस २७ मा जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै नेता नेपाली भोक हड्ताल सुरु गरेका हुन् ।
जलेश्वरमा रहेको स्व. रामनारायण मिश्र र पार्टी कार्यालयमा रहेको स्व. महेश्वर प्रसाद सिंहको शालिकमा माल्यार्पण गरी उनले विहान ८ बजेबाट भोक हड्तालमा सुरु गरेका हुन् ।
महोत्तरीका पूर्वसचिवसमेत रहेका उनले पार्टी सभापति शेरबहादुर देउवा समेतलाई क्षेत्र नम्बर ३ को अधिवेशन जिल्ला अधिवेशन अगावै गराउन ध्यानाकर्षण गराए पनि चासो नदेखाएपछि बाध्य भएर भोक हड्तालमा बसेको बताएका छन् ।
क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति षडयन्त्रपूर्ण र सुनियोजित तरिकाले तोकिएको उनको आरोप छ ।