कांग्रेस धनुषामा देउवा, कोइराला र निधि समूहबीच भिडन्त पक्का (भिडिओ) – Nepal Press

कांग्रेस धनुषामा देउवा, कोइराला र निधि समूहबीच भिडन्त पक्का (भिडिओ)

जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा जिल्ला अधिवेशनमा शेरबहादुर देउवा, डा. शेखर कोइराला र विमलेन्द्र निधिको त्रिपक्षीय भिडन्त हुने भएको छ ।

निधिले धनुषा सभापतिका लागि योगेन्द्र पञ्जियारलाई मैदानमा उतारेका छन् । पञ्जियारले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनी क्षिरेश्वरनाथ नगरपालिकाका मेयर पनि हुन् ।

२०५६ सालदेखि कांग्रेसमा लागेका उनले आफू पार्टी हित र पार्टीलाई मजबुत बनाउने काम गरेको दावी गरे । उनले आफू पहिल्यैदेखि सभापतिका लागि तयारी गरेको र आज उम्मेदवारी घोषणा गरेको बताए ।

उनले भने- म विश्वास दिलाउन चाहन्छु कि सभापतिमा विजयी भएपछि काँग्रेसलाई सदृढ र मजबुत पार्छु । तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउँछु ।

उनले शेरबहादुर देउवा समूहलाई लक्षित गर्दै कांग्रेसको आन्तरिक चुनावलाई केहि साथीहरु आन्तरिक नसम्झेर विभिन्न खालका धाकधम्की समेत दिने गरेको गुनासो गरे । उनले आफ्नो इच्छाले राम्रा उम्मेदवारलाई अमूल्य मत दिन प्रतिनिधिहरुसँग अपिल गर्न चाहेको पनि बताए ।

पञ्जियार नेपाल तरुण दलको जिल्ला उपाध्यक्ष, अध्यक्ष र धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का तीन पटक क्षेत्रिय सभापति भइसकेका छन् । उनको उम्मेदवारी घोषणा कार्यक्रममा प्रदेश सभापतिमा पराजित भएका प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र वर्तमान जिल्ला सभापति महेश शंकर गिरीको पनि उपस्थिति रहेको थियो ।

अहिले देउवा र कोइराला समूहका उम्मेदवारले औपचारिक उम्मेदवारी घोषणा गरेका छ्रैन् । तर देउवा समूहबाट सन्तोष यादव र कोइराला समूहबाट दिनेश प्रसैला चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । सन्तोष जिल्ला कमिटीका वर्तमान उपसभापति र प्रसैला पूर्व सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर