ओमिक्रोनविरुद्धको तयारीमा जुट्न मुख्यमन्त्री राईको निर्देशन – Nepal Press

ओमिक्रोनविरुद्धको तयारीमा जुट्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन आज सरोकारवाला पक्षसँग छलफल गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिअन्टको ओमिक्रोन फैलन सक्ने सम्भावनाका बारे सरोकारवाला निकायहरूबीच छलफल भएको हो ।

छलफलका क्रममा प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोभिडको नयाँ भेरिअन्टका रुपमा देखा परेको ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए । उनले खतराको घण्टी बज्नुअघि नै सबै प्रकारको तयारी गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘हामी सजग हुनुपर्ने अवस्था आएको छ’ मुख्यमन्त्री राईले भने, ‘नयाँ भेरिअन्ट देखा परेको अवस्थामा सरकारी संयन्त्रमात्र होइन सबै प्रकारका संयन्त्र परिचालित हुनुपर्छ ।’

मुख्यमन्त्री राईले अप्ठ्यारो परिस्थितिमा सबैको सहयोगको अपेक्षा पनि गरेका छन् ।

 सामाजिक विकास मन्त्री जयराम यादवले कोभिडविरुद्ध मन्त्रालयबाट भए गरेका कामका बारे जानकारी दिए । उनले नयाँ भेरिअन्ट फैलन नदिन भीडभाड हुने कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिडविरुद्धको अभियानमा महानगरपालिका प्रदेश सरकार सँगै रहने उल्लेख गरे ।

प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले कोभिडसँग सम्बन्धित सूचना प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए । सही सूचनाले नागरिक आश्वस्त हुने भएकाले चुस्त सूचना प्रणालीमा उनले जोड दिए ।

छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले आ–आफ्ना मन्त्रालयबाट भएका काम र प्रयासका बारे जानकारी दिएका थिए ।

त्यसैगरी सुरक्षा निकायका तर्फबाट १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बि.सी., शसस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं. प्रदेश कार्यालयका निर्देशक प्रकाशराज पाण्डे, नेपाली सेना इटहरी बाहिनीका सहायक रथी प्रकाश देउजासहित विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. विनोदप्रसाद गुप्ताले छलफलमा भाग दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर